
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकटका नेताहरूको बागमती प्रदेशस्तरीय छलफल गरेका छन् ।
बालुवाटारस्थित एक होटलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी एवं पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेश सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यलगायत अन्य महत्त्वपूर्ण नेताको उपस्थिति रहेको बताइएको छ ।
छलफलमा नेताहरू डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा सहभागी थिए ।
यसैगरी, संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला पनि छलफलमा सहभागी थिए ।
यस्तै, धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्वसांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाल लगायत १ सय २३ जनाको सहभागिता रहेको कोइराला पक्षका नेताहरूले जनाएका छन् ।
देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको नेताहरूले बताएका छन् ।
छलफलमा सहभागीले पन्ध्रौं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका छन् ।
अहिले आएर सदस्यता अद्यावधिक व्यावहारिक नभएको उनीहरूको तर्क छ । उनीहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको बताए । पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगन थापाकै रहेको उनीहरूले बताए ।