०१ साउन २०८३, शुक्रबार

सरकारका विवादास्पद कामहरूको औचित्य पुष्टि गर्न रास्वपा सांसदहरूलाई शंकर पोखरेलको चुनौती

बैशाख १८, २०८३
काठमाडौं
सरकारका विवादास्पद कामहरूको औचित्य पुष्टि गर्न रास्वपा सांसदहरूलाई शंकर पोखरेलको चुनौती

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई सरकारका विवादास्पद कामहरूको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारले चालेका पछिल्ला कदमहरूले लोकतन्त्रको मर्ममा प्रहार गरेको र जनतालाई निराश बनाएको आरोप लगाएका हुन्।

महासचिव पोखरेलले रास्वपाका माननीयहरूलाई सरकारका विभिन्न निर्णयहरूमा उनीहरूको सहमति भए/नभएको स्पष्ट पार्न माग गरेका छन् । उनले भारतबाट नेपाल आउँदा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार लगाउने कार्यदेखि विद्यार्थी संगठन र कर्मचारीहरूको ट्रेड युनियन अधिकारमाथि लगाइएको प्रतिबन्धसम्मका विषयमा रास्वपाको धारणा खोजेका हुन् । संविधानले दिएको संगठित हुने अधिकारविरुद्ध सरकार उभिएको भन्दै उनले यस्ता कार्यको जनसमुदायमा गएर बचाउ गर्न सक्नुहुन्छ ? भनी प्रश्न गरेका छन्।

त्यस्तै, सार्वजनिक जग्गा अतिक्रमण हटाउने नाममा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका घर-टहरामा अमानवीय ढंगले डोजर लगाइएको विषयलाई पनि पोखरेलले गम्भीरताका साथ उठाएका छन् । दर्तावाला लेखनदासलाई सरकारी कार्यालयमा रोक लगाउने, प्रक्रियागत रूपमा नियुक्त विश्वविद्यालयका पदाधिकारीलाई अध्यादेशबाट हटाउने र संसद् स्थगित गरेर सामान्य कानुन पनि अध्यादेशमार्फत ल्याउने सरकारको कार्यशैलीप्रति उनले कडा आपत्ति जनाएका छन् ।

पोखरेलले संसदीय लोकतन्त्रमा संसदीय दलको नेता बैठकमा उपस्थित नभई नेता भइरहने कार्य र प्रदेश तथा पालिकाको संवैधानिक कार्यक्षेत्र मिचेर मन्त्रालयपिच्छे निर्देशन दिने प्रवृत्तिको पनि आलोचना गरेका छन् । रास्वपालाई आशा गरेर मतदान गर्ने जनता अहिले सरकारका यस्ता विरोधाभाषी कामले निराश भएको उल्लेख गर्दै उनले यदि यी कार्यमा रास्वपाको सहमति हो भने जनतासामु आएर स्पष्ट पार्न र होइन भने आफ्नो स्पष्ट अभिमत सार्वजनिक गर्न आग्रह गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्