२१ जेठ २०८३, बिहीबार
सुकुम्बासीका छिमेकीलाई छुट्टै चिन्ता

सुकुम्बासी बस्तीमा डोजर चल्दा छिमेकीलाई तनाव, त्रासले घरबाहिर टाँसे लालपुर्जा

बैशाख १८, २०८३
काठमाडौं

तपाईंको घर आफ्नै निजी जग्गामा बनेको छ । लालपुर्जा तथा निर्माण सम्पन्नताको प्रमाणपत्र लगायत सम्पूर्ण कागजात छन् । तर, एक्कासि सरकारको डोजर आयो र तपाईंको घर पनि भत्काइहाल्यो भने ?

सोच्दा मात्र पनि तनाव हुन्छ नि होइन ? यस्तै तनावमा परेका छन् काठमाडौंका नदी तथा खोला आसपासका बस्तीहरू ।

बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार बनेपछि एक सातादेखि सुकुम्बासी बस्ती हटाउने अभियान चलिरहेको छ । थापाथली, त्रिपुरेश्वर, मनोहरा, बल्खु लगायत दर्जनौं स्थानका सुकुम्बासी बस्तीमा डोजर चलिसकेको छ ।

वर्षौंदेखि बसिरहेका घरटहरा भत्किँदा सुकुम्बासीहरूलाई त तनाव हुने नै भयो, त्यस आसपासका बासिन्दा अर्को तनावमा छन् ।

कतै, सुकुम्बासी भनेर आफ्नो घरमा पनि डोजर चलिहाल्यो भने ?

काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेको अघिल्लो शनिबारदेखि नै हो । सो कार्यले शुक्रबार बिहान पनि निरन्तरता पायो ।

बिहान झिसमिसेदेखि नै नदी तथा खोला किनारका बस्तीहरूमा एकाएक चहलपहल बढ्न थाल्यो । डोजरको आवाज, मानिसहरूको दौडधुप र सामान सार्दै गरेका सुकुम्बासीहरूको व्यस्तता ।

केही दिनअघि पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलेको थियो। त्यसपछि शुक्रबार बिहानैबाट बल्खु, शंखमुल, बालाजु र माछापोखरी क्षेत्रका बस्तीहरूमा पनि डोजर चल्न शुरू भयो । अधिकांश स्थानमा कुनै अवरोध वा तनाव देखिएन। सुकुम्बासीहरूले प्रशासनको निर्देशनअनुसार समयमै घर खाली गरी आवश्यक सरसामान सुरक्षित स्थानमा सारेका थिए।

डोजर अघि बढ्दै जाँदा टहराहरू एकपछि अर्को गरी भत्किँदै थिए। वातावरण शान्त नै थियो, न नाराबाजी, न त झडप नै । मानौं सबैले यो क्षणका लागि आफूलाई तयार पारिसकेका थिए।

यसबीचमा बुद्धनगर क्षेत्रमा भने केही फरक दृश्य देखियो ।

बुद्धनगरको सुकुम्बासी बस्तीमा डोजर पुग्दा त्यहाँको दृश्यले धेरैको ध्यान खिच्यो। घर–घरमा केही कागज टाँसिएका थिए ।

त्यसरी टाँसिएका कागज थिए– लालपुर्जाका फोटोकपी। अरू ठाउँमा जस्तै यहाँ पनि डोजर चलिरहेको थियो, तर बासिन्दाहरूले आफ्नो घर जोगाउने प्रयासस्वरूप लालपुर्जाको प्रमाण देखाउने प्रयास गरेका थिए।

कतै सुकुम्बासी भनेर आफ्नो घरमा पनि डोजर चलिहाल्छ कि भन्ने उनीहरूको चिन्ता थियो ।

प्रवेश थापाको घर सुकुम्बासी बस्तीसँगै छ । उनका अनुसार एउटै लाइनमा केही घर सार्वजनिक जग्गामा बनेका छन् भने केही घरसँग वैधानिक लालपुर्जा छ।

लालपुर्जा नभएकाहरूको घर भत्किरहेको देखेपछि आफ्नो घर सुरक्षित रहोस् भनेर प्रमाण देखाएको उनले बताए ।

सुकुम्बासी होइनौं भन्ने सन्देश दिनका लागि सल्लाहमै सबैले घरमा लालपुर्जा टाँसेको उनको भनाइ थियो ।

बुद्धनगरको यो दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ– सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानका क्रममा वास्तविक जग्गाधनीहरूको पहिचान कसरी सुनिश्चित गरिन्छ ?

एउटै क्षेत्रमा वैधानिक र अवैधानिक संरचना मिसिएको अवस्थामा प्रशासनको काम अझ जटिल बन्ने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्