
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई यो झन्झट नहुने भएको छ ।
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा सवारी चालकको अनुमतिपत्र, ब्लुबुक, चाबीलगायत कागजपत्र नियमन्त्रणमा लिनु कानुनविपरीत भएको ठहर गरेपछि ट्राफिक व्यवस्थापन र कारबाहीमा नयाँ अभ्यास देखिने भएको छ ।
००००
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन् ।
उनले शुक्रबार साँझ सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । बालेन सरकारले पठाएको मध्यादेशहरुमध्ये उनले जारी गरेको यो तेस्रो अध्यादेश हो । बिहीबार उनले दुई अध्यादेश जारी गरेका थिए। अन्य अध्यादेश अझै विचाराधीन अवस्थामा छन् ।
००००
चारवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र झण्डा हस्तान्तरण गरे। सोही अवसरमा अर्यालले पौडेललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बरबुझारथ गरे।
००००
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबारको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई डकवर्थ एन्ड लुइस नियमका आधारमा ६ रनले हराएको छ ।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईको टोलीले ४.१ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
वर्षाका कारण केही समय खेल रोकिएपछि यूएईको टोलीले डकवर्थ एन्ड लुइस नियमका आधारमा ३८ ओभरमा दुई सय ५५ रन बनाउनुपर्ने गरी नयाँ लक्ष्य पाएको थियो ।
तर, यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ४८ रन मात्र बनाउन सक्यो ।
००००
नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।
काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यको सामथ्र्य डोजरको दाँतमा नभई कानूनको न्यायपूर्ण कार्यान्वयनमा देखिनुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले सुकुम्बासी समस्या पालेर नभई समाधान गरेर मात्र सकिने बताएका हुन् ।
००००
सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो ।
००००
काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका इन्द्रबहादुर राई मृत फेला परेका छन् ।
शुक्रबार अपराह्न राईलाई बागमतीले बगाउँदै गरेको स्थानीयले देखेपछि नदीबाट बाहिर उतारेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार राई दुई(तीन दिनयतादेखि परिवारबाट टाढा थिए ।
००००
रोल्पामा बिहीबार भएको जीप दुर्घटनामा मृत्यु हुने २० जनाको पहिचान खुलेको छ । जलजलातर्फ जाने क्रममा लु १ ज ४१७६ नम्बरको यात्रुवाहक जीप रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा दुर्घटना हुँदा २० जनाको निधन भएको थियो ।
००००
अमेरिकामा रहेका दुई नेपाली लामो समयदेखि सम्पर्कविहीन भएका छन् ।
२६ वर्षीय विकास न्यौपाने र २९ वर्षीय पवन गैरे लामो समयदेखि सम्पर्कविहीन भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
००००
धानमन्त्री बालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट शुरू हुने बताएका छन् ।
पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा शुभकामना दिँदै उनले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट पारेका छन् । सोही दिन मजदुर दिवस पनि मनाइएको छ ।