२६ जेठ २०८३, मंगलबार

मिलानको मोड्रिच मोह, शल्यक्रियालगत्तै सम्झौता नवीकरणको तयारी

बैशाख १९, २०८३
काठमाडौं
मिलानको मोड्रिच मोह, शल्यक्रियालगत्तै सम्झौता नवीकरणको तयारी

विश्व फूटबलका चर्चित हस्ती हुन्, लुका मोड्रिच । उनी हाल इटालियन सिरिए क्लब एसी मिलानबाट व्यावसायिक फूटबल खेल्छन् ।

क्रोएसियाका यी प्रभावशाली मिडफिल्डर उमेरले ४० वर्ष पुगिसकेका छन् । इटालियन सिरिएअन्तर्गत गत सोमबार खेलिएको युभेन्ट्सविरुद्धको खेलमा उनी गम्भीर घाइते भएका थिए ।

मोड्रिचको देब्रे गालाको हड्डी भाँचिएको थियो । गोलरहित बराबरीमा सकिएको उक्त खेलमा उनी युभेन्ट्सका मिडफिल्डर म्यानुअल लोकेटेलीसँग नराम्ररी ठोक्किएका थिए ।

उनको सफल शल्यक्रिया गरिएको छ र अहिले पनि उनी उपचारकै क्रममा छन् । बढ्दो उमेर र चोटका कारण धेरै फूटबल प्रेमीले मोड्रिचको खेल जीवनमा पूर्णविराम लाग्ने अनुमान गरेका थिए ।

तर, यसको विपरीत उनले एसी मिलानसँग सम्झौता नवीकरण गर्ने भएका छन् । समाचारमा जनाइए अनुसार एसी मिलानसँग उनले थप एक वर्षका लागि सम्झौता नवीकरण गर्दैछन् ।

अर्कोतिर, उनको चोटबाट क्रोएसिया फूटबल संघ पनि चिन्तित बनेको छ । यद्यपि, आगामी विश्वकपअघि नै मोड्रिच पूर्णरूपमा स्वस्थ भइसक्ने विश्वास पनि महासंघले गरेको छ ।

मोड्रिच आगामी विश्वकप खेल्ने क्रोएसियन टोलीका प्रभावशाली सदस्य हुन् । विश्वकपको २३औँ संस्करण जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।

मोड्रिचले यसअघि चारवटा फिफा विश्वकप खेलिसकेका छन् । बालोन डी’ओर विजेतासमेत रहिसकेका मोड्रिच सम्झौता नवीकरणका लागि तयार भएपछि एसी मिलान पनि उत्साही देखिएको छ ।​

मोड्रिचले यो सिजनको सिरिएमा क्लबको ३४ मध्ये ३२ खेलमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्