२८ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

६ वटा अध्यादेश जारी, एक हजार ५९४ पदाधिकारीको नियुक्ति चट

बैशाख २०, २०८३
काठमाडौं
६ वटा अध्यादेश जारी, एक हजार ५९४ पदाधिकारीको नियुक्ति चट

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गरेका छन् । 

सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।

००००

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शनिबार थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

योसँगै पछिल्लो तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ ।

राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

यसअघि उनले वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अध्यादेश २०८३ जारी गरेका थिए ।

यस्तै, वैशाख १७ गते बिहीबार सार्वजनिक खरिद  र  सहकारीसम्बन्धी अध्यादेश, २०८३ जारी भएको थियो ।

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको भोलिपल्टै स्थगित गरेर सरकारले धमाधम अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरिरहेको छ ।

००००

सरकारले सार्वजनिक निकायका राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई एकमुष्ट पदमुक्त गर्ने गरी अध्यादेश जारी गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकका पदाधिकारीहरू भने आफ्नो पदमा सुरक्षित देखिएका छन्।

 शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले राष्ट्र बैंक र तीन ठूला सरकारी बैंकका नेतृत्वलाई नछोएको हो।

००००

नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय सल्यानको भवन निर्माणका लागि जग खन्ने क्रममा फेलापरेका शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।

सेनाले ९४ आइइडी, ५०० ग्राम विस्फोटक पदार्थ, दुई किलो फलामका टुक्रा र १० मिटर फायरिङ केबल सुरक्षित रूपमा डिस्पोज गरेको हो ।

००००

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा भइरहेको सुकुम्बासी बस्ती हटाउने कार्यले नेपालको संविधान र मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ५४ जना नागरिक अगुवाहरूले संयुक्त वक्तव्य जारी गरेका छन्।

सरकारको यस कदमले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने र आवासको संवैधानिक हकलाई कुल्चिएको भन्दै उनीहरूले यो प्रक्रिया तत्काल रोक्न माग गरेका हुन्।

००००

काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको पुरातत्व विभागले स्पष्ट पारेको छ ।

बल्खु क्षेत्रस्थित सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वका भएकाले विभागले संरक्षण गर्न आवश्यक नदेखिएको विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताइन् ।

००००

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्तिमार्फत् वैशाख २१ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

००००

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् ।

नेता दमन पोखरेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा शनिबार सभापति थापाले पार्टी भित्र देखिएका समस्यालाई समाधान गरेर जानुपर्ने बताए । त्यसका लागि जिम्मेवार नेताहरू पनि भूमिका खेल्नुपर्ने उनले बताए ।

००००

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

००००

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।

 त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको २ दिनपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । 

‘मिति २०८३।१।१७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

००००

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी रह्यो । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्