२२ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्तादेखि मालपोतको नाम परिवर्तनसम्म

बैशाख २३, २०८३
काठमाडौं
सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्तादेखि मालपोतको नाम परिवर्तनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ ।

गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।

समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ ।

००००

सरकारले निजामती सेवाभित्र क्रियाशील रहेका सबै ट्रेड युनियनहरू खारेज गर्दै सरकारी कार्यालयहरूमा रहेका युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय र सरकारी निकायहरूलाई युनियनका गतिविधि रोक्न र उनीहरूले प्रयोग गर्दै आएका भौतिक संरचना फिर्ता लिन निर्देशन दिएको हो ।

००००

नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेश र संसदीय अभ्यासमाथि प्रहार भएको भन्दै संसदमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

 पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसद समन्वय बोर्डको बैठकले वर्तमान राजनीतिक परिस्थिति र संघीय संसदको आगामी अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संगठन, संसदीय दल र सरकारबीचको सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र नीतिगत रूपमा एकरूपता कायम गर्न १० सदस्यीय ‘पार्टी–संसद र सरकार समन्वय समिति’ गठन गरेको छ । 

पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री भूप देव शाहको संयोजकत्वमा उक्त समिति निर्माण गरेको हो ।

००००

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।

उनले वैशाख २८ गते सोमबार दिउँसो २ बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्तिमार्फत् जानकारी दिए ।

००००

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनपश्चात मतगणना भैरहेको छ । मंगलबार मतदान सकिएलगत्तै मतगणना शुरू भएको थियो । 

निर्वाचनमा अनजन श्रेष्ठ र हेमराज ढकालको प्यानबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म महासंघको वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । हेमराज ढकाल प्यानलबाट विजयी भएका श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भए । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेका थिए । 

००००

पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ ।

००००

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ ।

मन्त्रालयले विभागकै सहसचिव अर्याललाई मंगलबार महानिर्देशकमा नियुक्त गरेको हो ।

००००

काठमाडौं जिल्ला अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्ने म्याद थप्न अस्वीकार गरेको छ ।

बयान सकिएको हुनाले थुनाबाहिरै राखेर अनुसन्धान अगाडि बढाउन भन्दै जिल्ला अदालतले मंगलबार म्याद थप्न अस्वीकार गरेको हो ।

००००

अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

मंगलबार नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।

००००

संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा सरकारले थप स्पष्ट पारिएको बुँदा थपेर पत्र पठाएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका छन् ।

आइतबार पुनर्विचारका लागि फिर्ता पठाइएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार जारी गरेका हुन् ।

पुनर्विचारका लागि फिर्ता पठाउँदा राष्ट्रपति पौडेलले गरेको तर्क– ‘संविधान, लोकतन्त्र र बहुमतीय प्रणालीको मर्मसँग मेल नखाएको’ भन्ने थियो ।

सोमबार सरकारले अध्यादेशका विषयवस्तुमा पुनर्विचार नगरी जारी गर्न पुनस् राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय र्गयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपतिलाई पठाएको पत्रमा ‘थप स्पष्ट पारिएको’ भन्ने एउटा बुँदा थपिएको छ ।

स्रोतका अनुसार सरकारले राष्ट्रपति कार्यालयलाई पठाएको पत्रमा ‘संवैधानिक परिषद्को अध्यक्ष (प्रधानमन्त्री) अल्पमतमा पर्न नमिल्ने’ भन्ने उल्लेख छ ।

००००

स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनलाई बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले सोमबार पक्राउ गरिएको हो ।

००००

मालपोत कार्यालयको नाम परिवर्तन भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले जग्गा प्रशासन सम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी भूमि प्रशासन कार्यालय राख्ने व्यवस्था गरेको हो।

salt training

कमेन्ट गर्नुहोस्