
प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बिहीबार साँझका लागि बैठक बोलाएका हुन् ।
संवैधानिक परिषद्का सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले परिषद्को बैठक बोलाइएको जानकारी दिए । ‘भोलि साँझ ५ बजे परिषद्को बैठक बस्ने भनेर सूचना आएको छ, तर एजेन्डाबारे केही आएको छैन,’ आङदेम्बेले लोकान्तरसँग भने ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको भोलिपल्टै प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएका हुन् ।
६ सदस्य मध्ये ४ जना उपस्थित भए गणपूरक संख्या पुगेको मानिने र प्रधानमन्त्रीसहित ३ जनाको निर्णय बहुमत मानिने व्यवस्थासहित नयाँ अध्यादेश जारी भएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख र प्रतिनिधि सभामा विपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश हुन सकेको छैन ।