
सरकारका प्रवक्ता सस्मित पोखरेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश इतिहासमा अहिलेसम्मकै राम्रो भएको दाबी गरेका छन् ।
नेपालको न्याय क्षेत्र सुधार गर्नुपर्छ भनेर कुरा उठे पनि अहिलेसम्म कसैले पहल नगरेको उनको भनाइ छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री पोखरेलले प्रधानन्यायाधीश सिफारिश अहिलेसम्मकै राम्रो भएको बताएका हुन् ।
‘योपालि पहिलोपटक मुद्दा फर्स्यौट र इन्डिकेटकरको हिसाबमा प्रधानन्यायाधीश सिफारिश सिफारिश गरिएको छ,’ पोखरेलले भने, ‘अहिलेसम्मको इतिहासमा इन्डिकेटर र कार्यक्षमताका हिसाबमा सिफारिश भएको पहिलो पटक हो । यसलाई अझै राम्रो बनाउँदै जानुपर्छ ।’
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले हिजो सर्वोच्च अदालतका चौथो नम्बरका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिश गरेको थियो ।
सरकारका प्रवक्ता पोखरेलले न्याय क्षेत्रमा नीतिगत रूपमा सुधार गर्नुपर्ने कुरा न्यायिक क्षेत्रबाटै आउने गरेकोले सुधारको प्रयास भएको दाबी गरे । उनले न्यायपरिषद्मा पनि ३ जना व्यक्ति राजनीतिक नियुक्ति जस्तो देखिएकोले न्यायलयमा नियुक्ति सिफारिशमा राजनीतिकरण भएको दाबी गरे ।