
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।
रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताएका हुन् ।
'सरकारले निकै द्रुत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?,' सभापति लामिछानेले प्रश्न गरे ।
जोखिमपूर्ण क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उनले बताए ।
सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताए । 'तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढङ्गबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसङ्गत भएन,' उनले भने ।