
बङ्गलादेशको उच्च अदालतले सन् २०२४ को एक वकिल हत्यासम्बन्धी मुद्दामा हिरासतमा रहेका हिन्दू सन्त चिन्मय कृष्ण दासको जमानत याचिका खारेज गरेको छ। उक्त मुद्दा चट्टोग्रामको तल्लो अदालतमा विचाराधीन छ।
उच्च अदालतका न्यायाधीश केएम जाहिद सरवर र शेख अबु ताहेरको संयुक्त इजलासले मुद्दाको सुनुवाइ जारी रहेकाले तत्काल जमानत दिन नसकिने जनाएको हो।
अदालतका अनुसार मुद्दामा साक्षीहरूको बयान रेकर्ड गर्ने प्रक्रिया चलिरहेको छ। चिन्मय दासका वकिल अपूर्वकुमार भट्टाचार्यले भने अन्य चार मुद्दामा जमानतसम्बन्धी सुनुवाइका लागि सोमबार मिति तोकिएको जानकारी दिएका छन्।
चिन्मय कृष्ण दासलाई सन् २०२४ मा राजद्रोहको आरोपमा पक्राउ गरिएको थियो। उनी सोही वर्ष नोभेम्बर २५ मा ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
यसअघि उनीविरुद्ध अन्य मुद्दामा जमानत दिइए पनि सर्वोच्च अदालतको पुनरावेदन महाशाखाले रोक लगाएको थियो। हाल उनीविरुद्ध विभिन्न मुद्दा विचाराधीन छन्।