
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । यसले कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको उनको भनाइ छ । मंगलबार मध्याह्न फेसबुक पोस्टमार्फत् प्रतिक्रिया दिँदै उनले पार्टीभित्र गुट–उपगुट अन्त्य गर्दै साझा भावना र सामूहिक नेतृत्वमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । 'हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,' उनले लेखेका छन् ।
कोइरालाले आफूले व्यक्तिगत पदभन्दा पनि पार्टीको समग्र एकतालाई प्राथमिकता दिएको बताएका छन् ।
उनले लेखेका छन्, 'पार्टीको समग्र एकता नभई हामी राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न सक्दैनौं । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौण हुन जान्छ ।'
कोइरालाले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको स्मरण गराउँदै आम नागरिकको भरोसा समेत गुमाएको उल्लेख गरेका छन् । हालैको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उनको भनाइ छ ।
उनले भनेका छन्, 'हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।'
आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा चित्रण गर्दै कोइरालाले जनविश्वास जित्न नसके कांग्रेसको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, 'यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्यमाथि प्रश्न उठ्ने खतरा म देख्दैछु ।'
कोइरालाले पार्टीसँग आबद्ध युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस भावनात्मक रूपमा एकताबद्ध हुनुपर्ने धारणा राखेका छन् । नागरिकमैत्री पार्टी निर्माणतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि चुनौती बढिरहेका बेला कांग्रेसभित्रै गुट–उपगुट कायम रहनु दुःखद भएको उनको टिप्पणी छ । 'आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याइँ (पपुलिज्म) को नाममा हाम्रा आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भइरहेको छ । यस्तो अवस्थामा पनि हामी गुट–उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो,' उनले उल्लेख गरेका छन् ।