
नेकपा एमालेले सरकारका नीति तथा कार्यक्रममा भदौ २३–२४ को घटनाका दोषीलाई कारबाही गर्ने विषय नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश जलाउने देशद्रोहीप्रति सरकार किन मौन ? भनेर प्रश्न गरेका हुन् ।
‘राष्ट्रपतिमार्फत सरकारका नीति तथा कार्यक्रमले केही सवालको जवाफ दिन सकेको छैन । राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ?’, उनले प्रश्न गरे ।
बादलले नेपाली सेनाको भूमिकाबारे समेत संसद्को रोष्ट्रमबाट प्रश्न गरे । ‘देश खरानी हुँदा, आफ्नै परामाधिपतिको मुख्यालयमा धावा बोल्दा सेना किन राष्ट्रको मुख्य रक्षक रहस्यमयी ढंगबाट किन मुकदर्शक बन्यो ?’, उनले प्रश्न गरे ।
यसअघि बादलले रास्वपालाई ‘अति महत्त्वकांक्षी अराजक जमातको अस्थायी गठजोड’ भनेपछि रास्वपा सांसदले नियमापत्ति गरेका थिए ।