११ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

सच्चिएनन् बादल, सभामुखले हटाए हर्कराज

बैशाख ३०, २०८३
काठमाडौं
सच्चिएनन् बादल, सभामुखले हटाए हर्कराज

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा गरेको दोस्रो सम्बोधन पनि विवादमा तानिएको छ ।
पहिलो सम्बोधनजस्तै दोस्रोमा पनि बादलले सेनाको भूमिकामाथि प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले रास्वपालाई समेत अराजक जमातको संज्ञा दिए ।

लोकप्रियतावादी दलका रूपमा अत्यन्त प्रिय देखिए पनि सार र परिणाममा घातक हुने उनले टिप्पणी गरे । बादलले बोल्दाबोल्दै रास्वपा सांसद मनिष खनालले नियमापत्ति गरेका थिए ।

पूर्वरक्षामन्त्री समेत रहेका बादलले भदौ २३–२४ को घटनाका दोषीलाई कारबाही गर्ने विषय नसमेटिएको भन्दै आपत्ति जनाए ।

बादलले नेपाली सेनाको भूमिकाबारे समेत संसदको रोस्ट्रमबाट प्रश्न गरे । ‘देश खरानी हुँदा आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा राष्ट्रको मुख्य रक्षक सेना रहस्यमयी ढंगबाट किन मूकदर्शक बन्यो ?’ उनले प्रश्न गरे ।

यसअघि बादलले चैत १७ गते प्रतिनिधि सभा बैठकको पहिलो सम्बोधनमा नेपाली सेना, कर्मचारी, सुशीला कार्की नेतृत्वको सरकारकै कारण रास्वपाले बहुमत ल्याएको अभिव्यक्ति दिएका थिए ।

सेना र कर्मचारीप्रति बादलले दिएको अभिव्यक्ति विवादमा परेको थियो ।

केपी ओली प्रहरी हिरासतमा रहेका बेला बादलले दिएको अभिव्यक्तिप्रति एमाले नेताहरूले आपत्ति जनाएका थिए । सचिवालय बैठक बसेरै बादलको अभिव्यक्ति त्रुटिपूर्ण भन्दै एमालेले करेक्सन गरेको थियो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वालेन्द्र शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रम पुरानैको निरन्तरता भएको टिप्पणी गरेका छन् । नयाँबाट व्यापक सुधारको अपेक्षा गरे पनि निराश बनाएको उनको भनाइ थियो ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य रहेको बताएको छ । 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै  सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरूका लागि त्यति सुखद्  नलागिराखेको बताए ।
००००
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको टिप्पणी गरे ।  संसदलाई श्रम संस्कृतिका सांसद हर्कराज राई, स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गरेका थिए । 
००००
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । उनले यो निर्णयले कांग्रेसको बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी समेत गरेका छन् । 

खड्काले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै वैशाख २८ गते सोमबार गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको उल्लेख गरेका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच प्रदेश सरकार हेरफेर लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

छलफलका लागि भक्तपुरस्थित ओली निवासमा मंगलबार साँझ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा पुगेका थिए । 

दुई दलबीच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा मुख्य रूपमा कुराकानी भएको थियो । छलफलमा कांग्रेस, एमाले र नेकपालाई समेत सहकार्यमा लैजाने विषयमा आन्तरिक संवाद भएको बताइएको छ ।
००००
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शतप्रतिशत नतिजासहित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।
एसइई २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजार १९८ जना विद्यार्थी ग्रेडेड भएका कामपाले जनाएको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की दिएको र आपराधिक लाभ लिन खोजेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जना विरुद्ध अभियोग दायर भएको छ।
अधिकारीको निर्देशन र मिलेमतोमा प्रमुख आयुक्त राईलाई ईजीएन नामक आतङ्ककारी सङ्गठनको नाम लिई राजीनामा नदिए ज्यान लिने धम्की दिएको काठमाडौँ जिल्ला प्रहरी परिसरको अनुसन्धानबाट खुलेको छ ।  

यस प्रकरणमा अधिकारीका साथै काभ्रेपलाञ्चोकका ३४ वर्षीय प्रकाश पाठक र झापाका ५६ वर्षीय तारा प्रसाद खरेललाई प्रतिवादी बनाइएको काठमाडौँ प्रहरीले मंगलबार जनाएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ ।
पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप लगाउँदै सांसद पदबाट फिर्ता बोलाएको थियो । त्यससम्बन्धी विवादमा परेको रिट निवेदन अदालतले खारेज गरेपछि बिच्छा पदमुक्त भएकी थिइन् ।
००००
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन् ।
मंगलबार आयोजित छलफलमा उनले कर्मचारीहरूले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै सो कार्य तत्काल रोक्न निर्देशन दिएकी हुन् ।
००००
प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।

सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार पदमुक्त गरेका हुन् ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाएका हुन् ।
००००
अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडुलेमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

अर्घाखाँची प्रहरी प्रमुख डीएसपी दिवस बीसीका अनुसार अर्घाखाँची जिल्ला अस्पतालमा ३ जना र पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा १ जनाको निधन भएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालका बीचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्