
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा आज (शनिबार) नेपालले घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार, बिहान ९:३० बजे शुरू हुनेछ ।
स्कटल्यान्डसहित तीन टोली सहभागी शृंखलामा नेपाल र अमेरिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
नेपाली टोली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई रनले पराजित भएको थियो ।
अमेरिकी टोली पनि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई रनले नै पराजित भएको थियो ।
विश्व क्रिकेटमा एउटै टोलीले लगातार दुई खेलमा दुई फरक प्रतिद्वन्द्वीलाई समान स्थितिमा एउटै रनअन्तरले हराउनु यो रमाइलो संयोग पनि हो ।
अघिल्लो खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो ।
त्यसपछि वर्षाका कारण खेल केही समय अवरुद्ध हुन पुग्यो । पुन: खेल शुरू हुँदा नेपालले ३९ ओभरमा दुई सय २१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पायो ।
ब्याटिङमा सुधारको खाँचो
तर, नेपाली टोलीका माथिल्लो क्रमका ब्याट्म्यानले अत्यन्तै निराशाजनक प्रदर्शन गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरी र सातौँ नम्बरका ब्याट्सम्यान गुलसन झाले पालीलाई समाल्ने प्रयास गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
दीपेन्द्रले ४९ बलमा ५५ र गुलसनले केवल ३५ बलमा अविजित ६१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो ।
ओपनर आसिफ शेख २१, विनोद भण्डारी १०, अर्जुन कुमाल शून्य, कप्तान रोहित पौडेल ३२ र आरिफ शेख तीन रनमा आउट भएका थिए ।
ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याटिङ नचल्नु नेपालको परम्परागत समस्या हो । शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालले ब्याटिङमा सुधार ल्याउनु आवश्यक छ ।
स्कटल्यान्डविरुद्धको खेलमा नेपाली बलरको प्रदर्शन भने सन्तोषजनक थियो । सन्दीप लामिछानेले चार तथा करण केसी र नन्दन यादवले दुई–दुई विकेट लिएका थिए ।
लगातार चार हारपछि जितको खोजी
नेपाल र अमेरिकाबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ११ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा अमेरिकाले नेपाललाई हराएको छ ।
नेपालले भने चार खेलमा मात्र अमेरिकालाई पराजित गरेको छ । नेपाल र अमेरिकाबीचको एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।
नेपालले पछिल्लो पटक सन् २०२३ को जुन २० तारिखमा अमेरिकालाई हराएको थियो । जिम्वाब्बेको हरारेमा खेलिएको उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
त्यसयता खेलिएको लगातार चार खेलमा अमेरिकाले नेपाललाई हराउँदै आएको छ । पछिल्लो पटक यी दुई टोली सन् २०२५ को नोभेम्बर १ तारिखमा दुबईमा आपसमा भिडेका थिए । उक्त खेलमा अमेरिका चार विकेटले विजयी भएको थियो ।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने यी दुई टोली तेस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा भिड्न लागेका हुन् । ती दुवै खेलमा नेपाल विजयी भएको थियो ।
अंक तालिकाको अवस्था
यो सिजनको लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । अंक तालिकामा नेपाली टोलीको अवस्था निराशाजनक देखिन्छ ।
लिग–२ प्रतियोगितामा ३० खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड पहिलो स्थानमा आसिन छ । २५ खेलबाट ३६ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।
यसैगरी, २८ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो, २४ खेलबाट २८ अंक बटुलेको नेदरल्यान्ड्स चौथो र २८ खेलबाट २२ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा आसिन छन् ।
यसैगरी, २४ खेलबाट २१ अंक जोडेको क्यानडा छैटौँ, २५ खेलबाट १८ अंक हात पारेको नेपाल सातौँ र २४ खेलबाट १४ अंक बटुलेको यूएई आठौँ स्थानमा छन् ।
किन महत्वपूर्ण छ लिग–२ प्रतियोगिता ?
लिग–२ प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा रहेको छ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।
यसका अतिरिक्त, आईसीसीबाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।
छनोट चरण पार गर्दै तेस्रोपटक टी–२० विश्वकप खेलेको नेपालले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन । यो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपाली टोलीसामू जारी लिग–२ प्रतियोगितामा अब्बल प्रदर्शन गर्नुको विकल्प छैन ।