
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शनिबार भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरे पनि टोलीलाई ठूलो झट्का लागेको छ ।
केकेआरका तीव्र गतिका बलर मथीशा पथिराना खेलका क्रममा घाइते भएपछि मैदान छाड्न बाध्य भएका छन् । श्रीलंकाका २३ वर्षीय पथिरानाले खेलमा जम्मा ८ बल मात्रै फ्याँक्न सके ।
दायाँ ह्यामस्ट्रिङमा समस्या देखिएपछि उनले बलिङ बीचमै रोक्नुपरेको हो । केकेआरले उनलाई आईपीएल २०२६ को अक्सनमा १८ करोड भारतीय रूपैयाँमा अनुबन्ध गरेको थियो ।
पथिराना पछिल्ला केही वर्षयता टी–२० क्रिकेटका सबैभन्दा फरक शैलीका बलरमध्ये एकका रूपमा स्थापित भएका छन् । २३ वर्षको उमेरमै उनले १०० भन्दा बढी टी–२० खेल खेलिसकेका छन् ।
श्रीलंकाका पूर्व चर्चित बलर लसिथ मलिङ्गासँग तुलना गरिने पथिरानाको स्लिङ शैली र लो–आर्म एक्सनका कारण ब्याटरहरूलाई उनलाई खेल्न कठिन हुने गरेको छ । विशेषगरी डेथ ओभरमा योकर फाल्ने क्षमता र गति परिवर्तन गर्ने शैलीले उनलाई अझ खतरनाक बनाउने गरेको छ ।
भारतीय टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले समेत पथिरानाको खुलेर प्रशंसा गर्दै विपक्षी टोलीलाई उनीप्रति सचेत रहन सुझाव दिएका थिए ।
सीएसकेबाट शुरू भएको आईपीएल यात्रा
पथिरानाले सन् २०२२ मा चेन्नई सुपर किंग्स (सीएसके)बाट आईपीएल यात्रा शुरू गरेका थिए । अबुधाबी टी–१० लिगमा प्रभावशाली प्रदर्शन गरेपछि उनले सीएसकेबाट डेब्यु गर्ने अवसर पाएका थिए ।
पहिलो सिजनमा उनले दुई खेल मात्रै खेलेका थिए । तर आईपीएल २०२३ मा भने उनले आफूलाई टोलीको मुख्य तीव्र गतिका बलरका रूपमा स्थापित गरे ।
उनको स्लिङ एक्सनमा आउने योकर बलले सीएसकेलाई पाँचौं उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यस सिजन उनले १९ विकेट लिएका थिए भने उनको इकोनोमी रेट ८.०१ रहेको थियो ।
चोटका कारण आईपीएल २०२४ मा उनले ६ खेल मात्रै खेले पनि सीएसकेले आईपीएल २०२५ अघि उनलाई १३ करोड भारतीय रूपैयाँमा रिटेन गरेको थियो । त्यस सिजन उनले १२ खेलमा १३ विकेट लिए पनि इकोनोमी रेट बढेर १०.१४ पुगेको थियो ।
सीएसकेसँग चार सिजन बिताउँदा उनले भरपर्दो डेथ बलरका रूपमा आफ्नो पहिचान बनाएका थिए।
आईपीएल २०२६ को ६० औं खेलमा केकेआरले घरेलु मैदान ईडेन गार्डेन्समा गुजरात टाइटन्सलाई २९ रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको केकेआरले २४७ रनको विशाल योगफल बनाएको थियो । टोलीका ब्याटरहरूले खेलमा कूल २२ छक्का प्रहार गरेका थिए ।
जवाफमा गुजरात टाइटन्स २१८ रनमै सीमित भयो ।