
सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीले सगरमाथाको आरोहण गरेका छन् ।
उनीहरूले आइतबार बिहान सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सहायक हवल्दार कार्कीले बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो ।
इलाम जिल्लाको सन्दकपुर गाँउपालिका माबुमा जन्मिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै संगठनको गौरवलाई अझ उचो बनाएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरूले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।
आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमशः शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।