![विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Sukumbasi_Pradarsan_Btl_5_ecN2oS7lZK.jpg)
उचित व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको छ ।
राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोष सभामा परिणत भएको छ ।
प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाका सुकुम्बासी सहभागी छन् । सरकारले विकल्पविना गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।
सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका झण्डै १२ लाखभन्दा बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको पौडेलको भनाइ छ ।
प्रदर्शनपछि सोमबार (भोलि) बुटवलमा सम्मेलन गरी भूमिहीन/अव्यवस्थित बसोबासीको समस्याको न्यायोचित समाधान गर्न विज्ञहरू समेतको सहभागितामा छलफल गरी ठोस निचोड निकाल्ने नेता वीरेन्द्र विकले बताए ।
विकल्पविना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले गएको वैशाख २४ गते पनि बुटवलमा सुकुम्बासीले प्रदर्शन गरेका थिए ।
रूपन्देही धेरै सुकुम्बासी बसोबास भएको जिल्लामध्ये पर्छ । काठमाडौंमा जस्तै यस क्षेत्रमा पनि सरकारले सुकुम्बासीलाई हटाउन सक्ने भन्दै उनीहरू त्रसित बनेका छन् ।
तस्वीरहरू :









