
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत र समसामयिक विषयमा अध्ययन, संवाद तथा अवधारणा निर्माण गर्न १२ वटा उपसमिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आइतबार बसेको प्रतिष्ठानको बैठकले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, रोजगार, शिक्षा, जातीय विभेदविरुद्ध सचेतना लगायतका विषयमा उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले पहिलो चरणमा प्रतिष्ठानका सदस्यहरूलाई विभिन्न उपसमितिको संयोजन जिम्मेवारीसमेत तोकेको छ ।
प्रतिष्ठानले डा. गोपाल दहितको संयोजनमा ‘भूमि व्यवस्था विशेष अभियान उपसमिति’ गठन गरेको छ । उक्त उपसमितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका विषयमा साझा दृष्टिकोण निर्माण गर्ने बताइएको छ ।
त्यस्तै, मानबहादुर थापाको संयोजनमा ‘विपद् व्यवस्थापन उपसमिति’, मोहना अन्सारीको संयोजनमा ‘मानसिक स्वास्थ्यः सचेतना अभियान उपसमिति’ तथा इन्जिनीयर दीपेश विष्टको नेतृत्वमा ‘सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति’ गठन गरिएको छ ।
निर्वाचन प्रणाली सुधारका लागि जनक चटौतको संयोजनमा छुट्टै उपसमिति बनाइएको छ भने पूँजीगत बजेट खर्च प्रणाली सुधार र पूर्वाधार निर्माणको गति बढाउने उद्देश्यसहित इन्जिनीयर अमृत ज्ञवालीको संयोजनमा ‘पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति’ गठन गरिएको छ ।
बैठकले खगेन्द्र आचार्यको संयोजनमा ‘उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति’, डा. कृष्णप्रसाद पौडेलको संयोजनमा ‘शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति’ तथा प्रकाश लामिछानेको संयोजनमा ‘बीपी ज्ञान केन्द्र उपसमिति’ पनि गठन गरेको छ ।
बीपी ज्ञान केन्द्र उपसमितिले आगलागीमा क्षति पुगेको कांग्रेसको केन्द्रीय पुस्तकालयलाई पुनः व्यवस्थापन गरी ‘बीपी विचार स्कूल’का रूपमा विकास गर्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, एलिजा ढकालको संयोजनमा ‘जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमिति’, प्रकृति भट्टराईको संयोजनमा ‘डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति’ तथा कञ्चन झाको संयोजनमा ‘ग्रीन टेबल उपसमिति’ गठन गरिएको छ । ग्रीन टेबल उपसमितिले नीतिगत तथा समसामयिक विषयमा नियमित अन्तरसंवाद सञ्चालन गर्ने जनाइएको छ ।
प्रतिष्ठानका सबै उपसमितिले आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।
