२१ जेठ २०८३, बिहीबार
केही समयमा हरियाली टुँडिखेल

बदलिँदै टुँडिखेल– दुबो रोप्न धमाधम हुँदै 'लेभलिङ', यस्तो छ योजना

जेठ ७, २०८३
काठमाडौं

 वर्षौंदेखि उत्सव, खेलकुद र जनभावनाको साक्षी बनेको टुँडिखेल अहिले नयाँ स्वरूपमा देखिन थालेको छ ।

राजधानीको यही ऐतिहासिक खुला क्षेत्रलाई थप व्यवस्थित, हरियालीयुक्त र नागरिकमैत्री बनाउने लक्ष्यसहित काठमाडौं महानगरपालिकाले ग्रिनरी पार्क निर्माणको काम अघि बढाएको हो ।

सैनिक मञ्चको दक्षिणपट्टि रहेको खुला मैदान अहिले निर्माण गतिविधिले व्यस्त देखिन्छ ।

डोजर, हेभी इक्विपमेन्ट र कामदारहरूको चहलपहलबीच जमिन सम्याउने काम तीव्र गतिमा भइरहेको छ । महानगरका अनुसार अहिले हरियाली विकासका लागि आवश्यक पूर्वतयारी भइरहेको हो ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेटअन्तर्गत २ करोड ४२ लाख ५१ हजार १ सय ३१ रुपैयाँ लागतमा निर्माण कार्य अघि बढाइएको हो ।

यो परियोजनाको जिम्मा ‘न्यु बेन्जामिन सुस्मन आरके जेभी’ले पाएको छ । सम्झौताअनुसार काम समयमै सम्पन्न भए २०८३ साल मंसिर ३० गतेभित्र निर्माण सकिने बताइएको छ ।

यो क्षेत्र करिब ६१ हजार २ सय ६३ वर्गमिटरमा फैलिएको छ ।

हाल भइरहेको मुख्य काम भनेको मैदानको लेभलिङ अर्थात् जमिन सम्याउने प्रक्रिया हो ।

महानगरका अनुसार पुरानो माटो दुबो तथा हरियाली विकासका लागि उपयुक्त नभएकाले पुरानो माटो हटाएर बाहिरबाट नयाँ माटो ल्याइएको छ । त्यसपछि तीन इन्चसम्म मलिलो माटो राखेर दुबो रोप्ने तयारी गरिएको छ ।

निर्माणस्थलमा अहिले माटो व्यवस्थापन, समथर बनाउने तथा हरियालीको आधार तयार पार्ने काम भइरहेको देखिन्छ । महानगरले अर्को चरणमा दुबो रोप्ने, सिँचाइ व्यवस्थापन गर्ने तथा वातावरणमैत्री खुला क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको छ ।

टुँडिखेल काठमाडौं उपत्यकाको सबैभन्दा महत्त्वपूर्ण सार्वजनिक खुला क्षेत्रमध्ये एक हो ।

लामो समयदेखि राष्ट्रिय कार्यक्रम तथा अनौपचारिक खेलकुद हुँदै आएको यो क्षेत्र राजधानीको सामूहिक स्मृतिसँग जोडिएको ठाउँ हे ।

यही कारण, टुँडिखेलको स्वरूप परिवर्तनलाई लिएर विगतमा विभिन्न बहस र चासो पनि उठ्ने गरेका थिए ।

तर, महानगरले भने यसपटक खुला क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित हरियाली क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य रहेको स्पष्ट पारेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर का अनुसार ग्रिनरी पार्क निर्माणपछि पनि सर्वसाधारणलाई कुनै प्रकारको रोकावट हुने छैन ।

उनले यो मैदान पहिलेझैँ सार्वजनिक रूपमा खुला रहने र यहाँ कुनै स्थायी संरचना निर्माण नगरिने बताएका छन् ।

महानगरका अनुसार निर्माण सम्पन्न भएपछि यहाँ सर्वसाधारणले बिहान–बेलुका हिँडडुल गर्न, व्यायाम, योग तथा अन्य शारीरिक गतिविधि सञ्चालन गर्न सहज वातावरण पाउनेछन् ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्