
सिन्धुलीका दीप थिङ र काभ्रेका कुमार तामाङ काठमाडौंमा जारी ‘जननायक बीपी कोइराला बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार सम्पन्न पुरुष एकलतर्फको अन्तिम १६ खेलाडीबीचको भिडन्तमा दीपले भक्तपुरका रेसोद सुवाललाई २१–११ र २१–१४ ले हराए । कुमार भने ललितपुरका सक्षम शाक्यलाई २१–१५ र २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।
यसैगरी, काठमाडौंका सक्षम ढकाल, ललितपुरका सशिन डंगोल, चितवनका विधान गुरुङ, धादिङका ईश्वर थापा मगर, काठमाडौंका बबीस थापा र ललितपुरका सुमन शाक्य पनि क्वार्टरफाइनलमा पुगे ।
यसैगरी, यू–१५ ब्वाइजतर्फ ललितपुरका रिजन मगर, काठमाडौंका समीर खड्का, धादिङका जोनाथन तामाङ, कीर्तिपुरका समानता बज्राचार्य र काठमाडौंका सुबाङ आचार्य क्वार्टरफाइनलमा पुगे ।
जननायक बीपी कोइराला स्मृति ट्रस्ट काठमाडौंद्वारा आयोजित प्रतियोगिताका खेलहरू वसुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा भइरहेको छ ।
प्रतियोगितामा १३ जिल्लाका एक सय २० जना खेलाडीको सहभागिता रहेको जानकारी बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्रबहादुर थिङले दिए ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, सिनियर (५० वर्षमाथि), जुनियर ब्वाइज र जुनियर गर्ल्स स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ र बागमती प्रदेश ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगितालाई बागमती प्रदेश खेलकुद विकास परिषद्को पनि सहयोग रहेको छ । मिडिया पार्टनरका रुपमा लोकान्तर डट्कम रहेको छ ।