०८ साउन २०८३, शुक्रबार

दक्षिण कोरियामा उत्तर कोरियाली महिला फुटबल टोलीको सानदार प्रदर्शन

जेठ ९, २०८३
काठमाडौं
दक्षिण कोरियामा उत्तर कोरियाली महिला फुटबल टोलीको सानदार प्रदर्शन

 भारी वर्षा र प्रतिकूल मौसमका बाबजुद दक्षिण कोरियाको सुवनमा ऐतिहासिक फुटबल खेल सम्पन्न भएको छ।

 एसियाली महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा उत्तर कोरियाको 'नेगोयाङ' महिला फुटबल क्लबले घरेलु टोली सुवन एफसीलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यो जित केवल खेलको नतिजा मात्र नभई सन् २०१८ पछि दक्षिण कोरियाको भूमिमा उत्तर कोरियाली खेलाडीहरूको पहिलो उपस्थितिका रूपमा पनि विश्वभर चर्चामा रहेको छ।

गएराति सुवन रंगशालामा ५ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो। मैदानमा दुई कोरियाबीचको कडा प्रतिस्पर्धा चलिरहँदा दर्शकदीर्घामा भने अनौठो र भावनात्मक दृश्य देखिन्थ्यो।

दक्षिण कोरियाली नागरिकहरूले आफ्नै देशको टोलीलाई मात्र नभई उत्तर कोरियाली क्लब 'नेगोयाङ' को नाम पुकार्दै उत्साहजनक समर्थन गरिरहेका थिए। केही स्थानीय गैरसरकारी संस्थाहरूले दुवै पक्षका लागि खेल भावनासहित समर्थन गर्न दर्शकहरूलाई प्रेरित गरेका थिए।

यो खेल यस्तो समयमा भएको हो जब उत्तर र दक्षिण कोरियाबीचको कठीन राजनीतिक सम्बन्ध थप चिसिएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले हालै मात्र दक्षिण कोरियासँगको पुनर्मिलनको दशकौँ पुरानो लक्ष्य त्याग्दै उसलाई शत्रु राष्ट्रको दर्जा दिएका छन्।

तर, राजनीतिक तिक्तताका बाबजुद नेगोयाङ टोली दक्षिण पुग्यो र उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हाफमा चो कुम ओक र किम क्युङ योङको गोल मद्दतले जित निकाल्यो। 

अब उपाधिका लागि नेगोयाङले जापानको टोक्यो भेर्डी बेलेजासँग प्रतिस्पर्धा गर्नेछ।
 

salt training

कमेन्ट गर्नुहोस्