२५ जेठ २०८३, सोमबार
ओलीमाथि दबाब बढाउँदै नेताहरू

उपाध्यक्षहरूकै लाइनमा उभिए शंकर पोखरेल, ओलीलाई के भने ?

जेठ ९, २०८३
काठमाडौं
उपाध्यक्षहरूकै लाइनमा उभिए शंकर पोखरेल, ओलीलाई के भने ?

नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि उपाध्यक्षहरूकै लाइनमा उभिएका छन् ।

एमाले सचिवालय बैठक अन्तर्गत शनिबार आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टीको आन्दोलन र पार्टी अघि बढ्न नसक्ने बताएका हुन् ।

उनले राजीनामा भन्ने शब्द प्रयोग नगरे पनि अहिलेकै नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने कुरा प्रस्टसँग राखेको बैठकमा सहभागी एक नेताले बताए ।

‘महासचिवले पनि हिजो उपाध्यक्षहरूले बोलेकै लाइनमा बोल्नुभयो । उहाँले राजीनामा भन्ने शब्द त प्रयोग गर्नुभएन तर अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने कुरा राख्नुभयो’, एमालेका ती पदाधिकारीले भने ।

बैठकमा पोखरेलले पार्टी पुनर्गठनको आवाज निकै ठूलो भइसकेकाले अब नेतृत्व हस्तान्तरण र मार्गप्रशस्त गर्न आग्रह गरे ।

शुक्रबार पनि उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टलगायतले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले मात्र नेतृत्वको बचाउ गर्नुपर्ने बताएका थिए ।

नेतृत्व छाड्न प्रस्ताव गरेपछि ओली शुक्रबार नेताहरूसँग फायर भएका थिए । उनले धम्कीको भाषा बोलेको भन्दै उपाध्यक्ष गुरुङले आपत्ति जनाएका थिए ।

बैठक स्रोतका अनुसार शुरूमै पौडेलले अहिलेसम्म गरेको योगदानको कदर गर्ने भन्दै अब ओलीले नेतृत्व छाड्नुपर्ने बताएका थिए । त्यसपछि बोलेका विष्टले पनि समयको मागअनुसार ओलीले नेतृत्व छाड्नुपर्ने बताए ।

उपाध्यक्ष गुरुङले अहिलेको नेतृत्वका कारण चुनावमा एमालेले अनपेक्षित प्रहार व्यहोरेको बताएका थिए । उनले कार्यकर्ताको माग अनुसार ओलीले नेतृत्व छाडेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए ।

नेताहरूले बोल्दै गर्दा ओलीले पटकपटक प्रतिवाद गरेका थिए । ओलीबाट धम्कीको भाषा आएको भन्दै गुरुङले आपत्ति जनाएका थिए ।

‘के एमाले पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? कम्युनिस्ट पार्टी तपाईंको निरंकुश शैलीले चल्छ ?’ गुरुङले प्रतिवाद गर्दै भनेका थिए ।

उसो त ओलीले शनिबारको बैठकमा पनि नेताहरूको आवाजलाई बेवास्ता गरे ।  बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताए । 

‘तपाईंहरूले मलाई सम्झाउनुपर्दैन । सहमति भए पनि, नभए पनि म छाड्दिनँ । के गर्नुहुन्छ ?’, बैठकमा ओलीको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्