
भारत र इटालीले कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ‘विशेष रणनीतिक साझेदारी’ स्तरमा स्तरोन्नति गर्ने समझदारी भएको इटाली सरकारका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
अन्य युरोपेली देशहरूझैँ इटालीले पनि भू–राजनीतिक अस्थिरताको समयमा भारतलाई एक महत्वपूर्ण साझेदारका रूपमा हेरेको छ । यसै वर्ष युरोपेली संघले भारतसँग लामो समयदेखि रोकिएको व्यापार सम्झौता टुंग्याएको थियो । उक्त सम्झौता आंशिक रूपमा अमेरिकामाथिको निर्भरता कम गर्ने उद्देश्यसँग पनि जोडिएको बताइएको छ ।
मोदीको यो भ्रमण इटालीको पहिलो द्विपक्षीय भ्रमण हो । यसअघि उनी सन् २०२४ जुनमा आयोजित जी–७ शिखर सम्मेलन तथा तीन वर्षअघि भएको जी–२० सम्मेलनमा सहभागी हुन इटाली पुगेका थिए । भ्रमणका क्रममा उनले बुधबार इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीसँग १७औँ शताब्दीमा निर्मित भिल्ला डोरिया पाम्फिलीमा भेटवार्ता गरेका थिए ।
सन् २०२३ मा युरोपेली संघ र अमेरिका लगायतका साझेदारबीच हस्ताक्षर गरिएको समझदारीपत्रमा आधारित आईएमईसी परियोजनाले भारत, अरब खाडी क्षेत्र र युरोपलाई व्यापारिक मार्गमार्फत जोड्ने लक्ष्य राखेको छ ।
नयाँदिल्लीस्थित इटाली दूतावासको वेबसाइटअनुसार सन् २०२३ मा दुई देशबीचको व्यापार १४ अर्ब युरोभन्दा बढी पुगेको थियो ।
सन् २०२३ मै रणनीतिक साझेदारी स्थापना गरेका जी–२० सदस्य राष्ट्र भारत र इटालीले वैज्ञानिक अनुसन्धान, व्यापार तथा कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रमा सहकार्य विस्तार गरिसकेको अधिकारीले बताएका छन् ।