३० जेठ २०८३, शनिबार

काठमाडौँमा नेपाल-भारत एआई सहकार्य सम्बन्धी सेमिनार सम्पन्न

जेठ २९, २०८३
काठमाडौं
काठमाडौँमा नेपाल-भारत एआई सहकार्य सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौँस्थित भारतीय दूतावास र नेपाल-भारत उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा नेपाल-भारत साझेदारी: एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरू विषयक एक विशेष सेमिनार सम्पन्न भएको छ। 

कार्यक्रममा दुवै देशका सरकारी प्रतिनिधि, व्यवसायी, प्राज्ञिक क्षेत्र र स्टार्टअपहरूबीच आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
कार्यक्रममा 'सर्भम एआई' का सह-संस्थापक एवं सीईओ डा. प्रत्युष कुमारले मुख्य सम्बोधन गर्दै एआईको बढ्दो प्रभाव र नेपालको स्टार्टअप समुदायले यसबाट लिन सक्ने लाभबारे चर्चा गरे । उनले भारतको 'इन्डिया एआई मिसन' र यसका सात स्तम्भहरूबारे जानकारी दिँदै नेपाल र भारतबीच संयुक्त अनुसन्धान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताए । 

नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसीले प्रविधिमा आधारित आर्थिक सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै भारतीय एआई क्षेत्रलाई नेपालमा लगानी गर्न र साझेदारी बढाउन आग्रह गरे ।  भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले 'इन्डिया-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क' अन्तर्गत २५ नेपाली स्टार्टअपहरूले हाल आईआईटी मद्रासमा तालिम लिइरहेको जानकारी दिए । 
यसै अवसरमा काठमाडौँ विश्वविद्यालय र डिजिटल इन्डिया भाषिनी विभागबीच भाषा एआई र डिजिटल सार्वजनिक पूर्वाधार विकासका लागि भएको समझदारी पत्रबारे पनि चर्चा गरिएको थियो। यो सहकार्यले दुवै देशमा बहुभाषिक डिजिटल प्रणाली र समावेशी प्रविधिको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा सन् २०२६ फेब्रुअरीमा नयाँ दिल्लीमा सम्पन्न 'इन्डिया एआई इम्प्याक्ट समिट' को उपलब्धिहरू र विश्वव्यापी एआई परिदृश्यमा भारतले खेल्दै आएको अग्रणी भूमिकाका बारेमा समेत जानकारी गराइएको थियो।

salt training

कमेन्ट गर्नुहोस्