३१ जेठ २०८३, आइतबार

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मशिनबाट मतदानको तयारी

जेठ ३०, २०८३
काठमाडौं
रास्वपाको बागमती अधिवेशन : विद्युतीय मशिनबाट मतदानको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ ।

धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मशिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ ।

निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदानस्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण अनिवार्यरूपमा ल्याउन आग्रह गरेको छ ।

निर्धारित समयभित्रै मतदान केन्द्रमा उपस्थित भएर मताधिकार प्रयोग गर्न आयोगले अनुरोध गरेको छ ।

मतदान स्थल र सोको वरपर निर्वाचन आचरसंहिताको पूर्णरूपमा पालना गर्न र शान्तिपूर्ण तथा सौहर्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ ।

यही जेठ २६ गते सो पार्टीको बागमती प्रदेशको हेटौंडामा शुरू भएको अधिवेशन प्राविधिक र व्यवस्थापकीय कारणले स्थगन भएको थियो । अधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रियाका सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगको टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन र प्राविधिक परीक्षण गरेको थियो ।

बागमती प्रदेशमा एक हजार बढी मतदाता रहेका छन् । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको राष्ट्रिय महाधिवेशन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्