०३ साउन २०८३, आइतबार

बुटवलबाट राजधानी सारिँदा ठूलो लगानीका होटल संकटमा परेको व्यवसायीको गुनासो

असार १५, २०८३
बुटवल
बुटवलबाट राजधानी सारिँदा ठूलो लगानीका होटल संकटमा परेको व्यवसायीको गुनासो

रुपन्देहीका होटल व्यवसायीले बुटवलबाट प्रदेश राजधानी दाङ सारिँदा यस क्षेत्रमा ठूलो लगानी गरेका होटल व्यवसाय संकटमा परेको गुनासो गरेका छन् । 

प्रदेश राजधानी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखेर गरेको लगानी अहिले विस्थापित हुने अवस्थामा आएको उनीहरूको भनाइ छ । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २५ औं वार्षिक साधारणसभामा व्यवसायीले भविष्य हेरेर गरेको अर्बौं लगानी डुब्ने अवस्थामा आइपुगेको बताए ।

उनीहरूले पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनका लागि राज्यले व्यावहारिक र व्यवसायमैत्री नीति बनाउन माग समेत गरे । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले बुटवल रहेको प्रदेश मुकामबाट राजधानी दाङ सारिँदा यस क्षेत्रको व्यवसायमा ठूलो क्षति पुगेको बताए । 

‘प्रदेशको प्रशासनिक केन्द्र र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटन विकासका सम्भावनाहरू थप सृजना हुने आशामा व्यवसायी उत्साहित भएर ठूलो लगानी गरेका थिए’, अध्यक्ष खनालले भने, ‘एकातिर विमानस्थल चलेन, अर्कोतिर राजधानी दाङ सर्दा धेरै व्यवसायी विस्थापित हुने अवस्था आएको छ ।’

पर्यटन विकासका सम्भावना देखेर बुटवल, भैरहवा, लुम्बिनी, तिलोत्तमा लगायतका क्षेत्रमा हजारौं होटल/रेष्टुरेन्ट, रिसोर्टदेखि पाँचतारे होटलमा व्यवसायीले ठूलो लगानी गरेका छन् ।

होटल व्यवसाय पर्यटन क्षेत्रको आधारस्तम्भ भएको बताउँदै अध्यक्ष खनालले व्यवसायलाई थप गतिशील, प्रतिस्पर्धी र उत्पादनशील बनाउन सरकारबाट दीर्घकालीन योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वन गर्न जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख (मेयर) खेलराज पाण्डेयले अन्य कुनै प्रदेशको राजधानी नसर्ने तर, लुम्बिनी बुटवलबाट सर्दा यस क्षेत्रमा होटल व्यवसायको विकास हुन नसकेको बताए । 

संकटमा परेको व्यवसायलाई चलायमान बनाउन स्थानीय सरकारले सक्दो सहयोग गर्ने मेयर पाण्डेयले प्रतिबद्धता व्यक्त गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको विकासका लागि संघ/संस्थाहरू सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिए ।

गएको भदौ २३ र २४ को जेनजी आन्दोलन, इरान र अमेरिकाबीचको तनाव, इन्धन आपूर्तिमा असहजताले गर्दा होटलहरूको अकुपेन्सी आधा पनि छैन । 

सुनौली नाका भएर ठूलो संख्यामा भारतीय पर्यटक बुटवल हुँदै पोखरा जाने गरे पनि यस क्षेत्रमा रोकिने गरेका छैनन् ।  पर्यटन क्षेत्रका लागि बुटवलमा दुई वटा केबलकार समेत बनेका छन् । तर, पर्यटक लक्षित योजना बन्न नसक्दा व्यवसाय अप्ठ्यारोमा परेको उनीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्