०९ साउन २०८३, शनिबार

चराहरूको मधुर स्वरको रहस्य खुल्यो: संसारभरका चराको गीतमा पाइयो ८ आधारभूत 'ध्वनि'

साउन ८, २०८३
काठमाडौं
चराहरूको मधुर स्वरको रहस्य खुल्यो: संसारभरका चराको गीतमा पाइयो ८ आधारभूत 'ध्वनि'

वैज्ञानिकहरूले चराहरूको स्वरमा हुने आश्चर्यजनक विविधताको मुख्य आधार पत्ता लगाएका छन्। फ्रान्सका अनुसन्धानकर्ताहरूले गरेको एक विस्तृत अध्ययन अनुसार, संसारभरका चराहरूले गाउने गीतहरू मुख्यतया आठवटा आधारभूत ध्वनिहरू मिलेर बनेका हुन्छन्, जसलाई वैज्ञानिकहरूले "मोटिफ" नाम दिएका छन्।

'साइन्स' जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार, चराहरूको स्वरमा पाइने जटिलता र विविधताका पछाडि एक प्रकारको सरलता लुकेको बीबीसीको समाचारमा उल्लेख छ ।

के हुन् ती ८ 'मोटिफ'?
वैज्ञानिकहरूले एआई को सहयोगमा ३ हजारभन्दा बढी प्रजातिका १ लाख १६ हजारभन्दा बढी चराका गीतहरूको विश्लेषण गरेका थिए। अध्ययनले देखाए अनुसार सबै चराका गीतहरू निम्न ध्वनिहरूको संयोजनबाट बन्छन्:
१. तीन प्रकारका 'ट्रिल' (ट्रिल - थर्कने आवाज)
२. तीन प्रकारका 'ह्वीसल' (ह्वीसल - सुसेली जस्तो आवाज)
३. अस्तव्यस्त आवाज 
४. लयबद्ध ध्वनि 
वातावरण अनुसार फरक स्वर
अनुसन्धानका प्रमुख लेखक तथा युनिभर्सिटी अफ सेन्ट-इटिनका पीएचडी विद्यार्थी क्वान्टिन बाक्लेका अनुसार, चराहरूले कस्तो गीत गाउने भन्ने कुरा उनीहरू बस्ने वातावरणले तय गर्छ।

ट्रोपिकल (उष्ण) जंगलका चराहरूले सरल र सीधा 'ह्वीसल' जस्तो स्वर बढी प्रयोग गर्छन्। घना वनस्पति र अन्य जीवजन्तुको कोलाहलका बीच आफ्नो आवाज टाढासम्म पुर्‍याउन यस्तो सरल ध्वनि प्रभावकारी हुन्छ।

खुला ठाउँ र पातला जंगल भएका क्षेत्रमा चराहरूले जटिल र छिटो स्वर निकाल्छन्। उनीहरू नजिकैको दुरीमा सञ्चार गर्ने भएकाले थोरै समयमा धेरै सूचना आदानप्रदान गर्न यस्तो जटिल स्वरको प्रयोग गर्छन्।

मानवीय हस्तक्षेप र खतरा
वैज्ञानिकहरूले  मानवीय गतिविधि र वनविनाशका कारण चराहरूको यो प्राकृतिक सञ्चार प्रणाली संकटमा परिरहेको चेतावनी दिएका छन्।
"यदि कुनै जंगल नष्ट गरियो भने, त्यहाँ बस्ने चराहरूको विशिष्ट गीत नयाँ वातावरणका लागि अनुपयुक्त हुन सक्छ," बाक्ले भन्छन्। सहरी कोलाहल र प्राकृतिक बासस्थानको विनाशले चराहरूलाई आफ्नो स्वर र सञ्चारको तरिका बदल्न बाध्य पारिरहेको छ, जसले उनीहरूको अस्तित्वमै असर पुग्न सक्छ।

salt training

कमेन्ट गर्नुहोस्