२८ असार २०८३, आइतबार

वीरेन्द्रनगरमा फूटपाथ सफाइ अभियान, कुहिन थाले नियन्त्रणमा लिइएका फलफूल

फागुन २२, २०७४
वीरेन्द्रनगरमा फूटपाथ सफाइ अभियान, कुहिन थाले नियन्त्रणमा लिइएका फलफूल

सुर्खेत, २१ फागुन- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नगरपालिकाले शुरु गरेको फूटपाथ हटाउने अभियानले फूटपाथ व्यवस्थित हुन थालेको छ । गत फागुन १५ गतेबाट शुरु भएको उक्त अभियानले मंगलगढीदेखि गणेशचोकसम्मका फूटपाथहरू व्यवस्थित बन्दै गएका हुन् ।

यो अभियानमा स्थानीय व्यापारीहरूको समेत पर्याप्त सहयोग पाइरहेको नगर अनुगमन शाखाका सह–संयोजक टंक आचार्यले जानकारी दिए । उनका अनुसार अहिले नगरको ध्यान सडकको दाँया–बाँया राखिएका फूटपाथ हटाउने र विस्तारै शहरलाई व्यवस्थित पार्दै लैजानेमा केन्द्रित छ । ‘अहिले हामीले मंगलगढी चोक, राजा चोक, गणेश चोकलगायत मुख्यबजार क्षेत्रलाई टार्गेट बनाएर अघि बढेका छौं,’ आचार्यले भने, ‘अबको केही दिनमै हामी अन्यत्र रहेका टहरा, अतिक्रमित जमिन हटाउने तयारीमा छौं ।’

नगरसँग नगर प्रहरी समेत नभएको बेला नगरले ४ जना कर्मचारी राखेर बजारमा पठाएको छ । तीनै चारजनाले अहिले फूटपाथ अनुगमन गर्दै आएका छन् ।

४ जना कर्मचारीले निरन्तर अनुगमन गर्ने गरेपछि स्थानीय व्यापारीहरू समेत सजग बन्न पुगेका छन् । अहिलेसम्म २३ जनाले फुटपाथमा सामान राखेबापत नगरले उठाएको सामानको जरिवाना तिरेर सामान फिर्ता लिएका छन् ।

उनीहरूले जनही रु. ५०० तिरेको बताइएको छ ।

फलफूल कुहिए

नगरले नियन्त्रणमा लिएका फलफूलहरू कुहिन थालेका छन् । ठेलामा राखेर चोकमा व्यापार गरेको भन्दै नगरपालिकाले समातेर ल्याएको तर ठेला मालिक लिन नआएपछि ठेलामै फलफूल कुहिन थालेका हुन् । फलफूल कुहिएर गन्हाउन थालेका छन् ।

सकेसम्म सहमतिमै नभए बल प्रयोग

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आफूहरू सहमतिमै टहराहरू हटाउने योजनामा रहेको बताए । ‘सडकमा व्यवसाय गर्ने नागरिकहरू आफैँले कतिपय ठाँउमा खाली गरिसक्नु भएको छ,’ उनले भने, ‘शहर सफा र आकर्षक बनाउन उहाँहरूले देखाउनुभएको यो व्यवहारले म प्रफुल्लित छु ।’ नगरप्रमुख देवकुमार सुवेदीले २० वर्षसम्म कसैले पनि केही नभनेका कारण अहिले रातारात खाली गर्न नसकिने प्रतिक्रिया दिए ।

‘हामी बल्ल बजार क्षेत्रको फूटपाथ व्यवस्थापन गर्न सफल भइरहेका छौं । एकै दिनमा रातारात सबै टहरा भत्काउन जरुरी नै छैन । हामी त्यसो गर्दैनौं,’ उनले भने, ‘विस्तारै नागरिकमा सचेतना आएको छ, क्रमशः शहर व्यवस्थापन गर्दै जान्छौं ।’

नगरप्रमुख सुवेदीले यदि कसैले अटेर गरेमा भने चुप लागेर नबस्ने बताए । ‘हामीले अहिले पनि सहमतिका आधारमा अतिक्रमति जग्गा खाली गर्न र फूटपाथमा सामान नबेच्न आग्रह गर्दै आएका छौं । तर कसैले अटेर गर्छ भने त कानुन अनुसार कारबाही गर्छौं,’ उनले भने ।

यता बजार क्षेत्र वडा नं. ६ का वडाअध्यक्ष मोतिलाल कंडेलले भने नगरमा भएका जति सबैलाई जग्गा दिन नसकिने बताए । ‘भारतदेखि पनि यहाँ आएका छन्, व्यापार गर्न, उनीहरूलाई समेत हामी कसरी जग्गा वितरण गर्न सक्छौं,’ उनले भने, ‘जग्गाको व्यवस्थापन उहाँहरू आफैले गर्ने हो । नगरले सबैलाई व्यवस्थापन गर्न सक्दैन ।’

अध्यक्ष कंडेलले सबैजना मिलेर आएको खण्डमा कुनै निश्चित क्षेत्रमा हाट बजार लगाउन दिनेबारे सोच्न सकिने बताए । तर त्यसका लागि पनि आवश्यक छानबिन हुने उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्