०५ साउन २०८३, मंगलबार

कर्मचारीलाई गृहमन्त्रीको निर्देशन– टाउकोमा आगो बाल्न तयार हुनुहोस्

चैत १९, २०७४
कर्मचारीलाई गृहमन्त्रीको निर्देशन– टाउकोमा आगो बाल्न तयार हुनुहोस्

काठमाडौं, १९ चैत–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह प्रशासनमा व्यापक सुधारको खाँचो रहेको भन्दै सुधारका लागि तयार रहन कर्मचारीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयअन्तर्गतका सबै निकायमा थुप्रै बेथिति रहेको भन्दै गृहमन्त्री बादलले सुधारका लागि कर्मचारीले आफूलाई तयार राख्नुपर्ने बताए । 

‘अहिलेको गृह प्रशासनमा जता हेर्यो त्यतै प्वाल परेको देखिन्छ । सबैतिर बेथिति छ,’ सोमवार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने, ‘गृह प्रशासनलाई सुनारले सुन खारैजस्तै खार्नु जरुरी छ । यसका लागि कर्मचारी र सुरक्षाकर्मीले आफ्नो टाउकोमा आगो बाल्नु परेपनि तयार हुनुपर्छ ।’

गृहमन्त्री बादलले अहिले भन्सारका नाकाबाटै अर्बैंको दरमा तस्करी भइरहेको बताउँदै तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कदम चाल्ने पनि बताए । यस्तै भ्रष्ट र तस्करहरुमाथि दमन चलाएर गृहमन्त्रालयमार्फत नयाँ क्रान्तिको शुरुवात गरिने उनको भनाइ थियो । 

पछिल्लो समय सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुप्रति जनताको वितृस्ण बढेको तथा जनताले सेतो नम्बर प्लेट भएको (सरकारी) गाडी देख्नेवित्तिकै ढुंगा हान्ने भयले कर्मचारीहरुमा सरकारी गाडीमा रातो नम्बर प्लेट प्रयोग गर्ने प्रचलन बढेको गृहमन्त्रीले बताए । 

प्रहरीमा ३० वर्षे सेवा अवधि ठूलो समस्याको रुपमा रहेको भन्दै त्यसलाई समयानुसार परिमार्जन गर्नका लागि तयारी भइरहेको पनि बताए । प्रहरी प्रशासनमा सरुवा र बढुवाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पनि आफूले नीतिगत परिवर्तन गर्ने उनको भनाइ थियो । 

गृहमन्त्री बादलले यातायातका क्षेत्रमा देखिएको आलोपाले प्रणाली (सिण्डिकेट) तोडेरै छाड्ने प्रतिबद्धता पनि जनाए । ‘सिण्डिकेट तोड्न जनताले नै आदेश दिएका छन्,’ गृहमन्त्री बादलले भने, ‘गृह मन्त्रालय र जनता मिलेर सिण्डिकेट तोडिन्छ ।’

उनले राजधानीको ट्राफिक जामसँग गुण्डागर्दी, भ्रष्टाचार, आर्थिक अनियमितता र कर्मचारीतन्त्रमा देखिएको बेथिति जोडिएको भन्दै ट्राफिक जामको समस्या समाधानका लागि छिट्टै परिणाममुखी काम गरिने बताए । 

गृहमन्त्री बादलले गृह प्रशासन सुधारका लागि भन्दै सोमवार ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्