
काठमाडौं, २७ चैत-सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवामा झमेला बढेको छ ।
वर्तमान आईजीपी प्रकाश अर्यालले बुधवारबाट अवकाश पाउन लागेको अवस्थामा समेत नयाँ आईजीपी को हुने भन्ने विषयमा अन्यौल कायम छ ।
सरकारले बुधवार नै नयाँ आईजीपी नियुक्त गरिसक्नुपर्ने हुन्छ । तर एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा मंगलवार बिहान बसेको बैठकले आईजीपी नियुक्तिका सम्बन्धमा कुनै निर्णय गर्न सकेन ।
सहमति खोज्न ओली, प्रचण्ड र बादलको बैठक
नेपाल प्रहरीका प्रमुख नियुक्तिका सम्बन्धमा सहमति खोज्न मंगलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच छलफल हुने जनाइएको छ ।
आईजीपी नियुक्तिमा सत्तारुढ दलबीच नै मतभेद बढेपछि ३ जना नेताको बैठक बस्न लागेको हो । ओली, प्रचण्ड र बादलबीचको बैठकबाट कसलाई आईजीपीमा बढुवा गर्ने भन्ने विषयमा निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
नेपाल प्रहरीको आगामी महानिरीक्षकका लागि ३ जना नायव निरीक्षक (डिआईजी)को नाम चर्चामा छ । वरीयताका आधारमा एक नम्बरमा रहेका सर्वेन्द्र खनाल, दुई नम्बरमा रहेका रमेश खरेल र तीन नम्बरमा रहेका पुष्कर कार्की प्रहरीको आईजीपी हुने दौडमा छन् ।
आईजीपीमा राष्ट्रपतिको स्वार्थ
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल वरीयताका आधारमा एक नम्बरमा रहेका खनललाई आईजीपी बनाउनुपर्ने पक्षमा छन् । तर प्रधानमन्त्री केपी ओलीमाथि भने पुस्कर कार्कीलाई आईजीपी बनाउनुपर्ने दबाब बढेको एमाले नेताहरू बताउँछन् ।
राष्ट्रपति विद्या भण्डारीका नातेदार भनिएका कार्कीलाई आईजीपी बनाउन ओलीमाथि दबाब बढेको हो । ‘राष्ट्रपति ज्यूबाटै कार्कीलाई आईजीपी बनाउन दबाब आएको छ,’ प्रधानमन्त्री ओलीनिकट एक एमाले नेताले भने, ‘प्रधानमन्त्रीज्यूको आफ्नै कुनै खास छनोट छैन ।’
केही एमाले नेताहरूले भने रमेश खरेललाई आईजीपी बनाउनुपर्ने दबाब दिँदै आएका छन् । पहिलेदेखि नै पार्टीलाई सहयोग गरेको भन्दै एमाले नेताहरूले खरेललाई आईजीपी बनाउनुपर्ने दबाब दिँदै आएका छन् ।
कार्कीको नाममा पनि एमालेकै केही नेताको असहमति छ । एमालेनिकट मानिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरमा पुष्कर कार्कीको मूख्य भूमिका रहेको भन्दै केही एमाले नेता उनलाई आईजीपी बनाउन नहुने पक्षमा छन् ।
गुण्डानाइके चरीको इन्काउन्टर हुँदा कार्की महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख थिए । अपराध महाशाखाबाटै खटिएको प्रहरीको टोलीसँग भिडन्त हुँदा चरीको मृत्यु भएको प्रहरीको भनाइ थियो ।