०८ साउन २०८३, शुक्रबार

धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटनाप्रति संसद बैठकमा निन्दा

चैत २८, २०७४
धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटनाप्रति संसद बैठकमा निन्दा

बिराटनगर, २८ चैत– एक नम्बर प्रदेशको प्रदेशसभा सदस्यहरुले शुन्य समयमा केही दिन अघि हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् । प्रदेश सरकारले सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै सांसदहरुले तत्काल दोषि पत्ता लगाइ कडा कारबाही गर्न पनि माग गरेका छन् । उनीहरुले गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुईजनालाई सार्वजनिक गर्न समेत माग गरे ।
 
राप्रपाकी सांसद इन्दिरा राईले धर्मगुरुमाथिको आक्रमण र धार्मिक पर्वहरुको बिदा कटौतीले सनातन धर्म संकटमा परेको बताइन् । धर्मगुरुमाथिको आक्रमण गम्भीर विषय भएको भन्दै दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न राईले माग गरिन् । हिन्दु धार्मिक पर्वमा गरिएको बिदा कटौती फिर्ता लिन पनि उनले संघीय सरकारसँग माग गरिन् ।

नेपाली काँग्रेसकी सांसद शान्ता पौडेलले  धर्ममाथिको आक्रमण बन्द गर्न माग गरिन् । उनले धर्मगुरुमाथिको आक्रमणले सुरक्षा चुनौती बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै लिला सुब्बाले पनि धार्मिक सहिष्णुतालाई खलाल पर्ने गरी भएको आक्रमणको निन्दा गर्दै थप आक्रमणको खतराको बिषयमा सरकार संवेदनशिल बन्नु पर्ने बताइन् । 

त्यस्तै संदहरुले आफ्नो क्षेत्रको बिकास निर्माणको बिषय पनि उठान गरेका छन् । मोरङका सांसद राजकुमार ओझाले विराटनगर–विराटचौक जोड्ने सडक ४ लेनको बनाउनुपर्ने  माग राखे । संखुवासभाका एमाले सांसद तुलसी न्यौपानेले बसन्तपुर–मुढे–चैनपुर सडक निर्माणमा भएको अनियमितता छानविन गरी निर्माण कार्यलाई चाँडो सक्ने कार्यमा प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

उनले सशस्त्र द्वन्द्वको क्रममा सरकारी कार्यालय आगजनी हुँदा कागजात जलेकोले संखुवासभाको जग्गाको तत्काल नापी गरेर नयाँ पुर्जा वितरण गर्न माग गरे । काँग्रेस सांसद लोकप्रसाद संग्रौलाले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज र सुविधायुक्त अस्पताल तत्काल सञ्चालन गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले गैरकानुनी रुपमा बैज्ञानिक वन व्यवस्थापनमा रोक लगाउँदा सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल त्यसलाई खुल्ला गर्न माग गरे । 

इलामका माओवादी सांसद धिरेन्द्र शर्माले इलामको सूर्याेदय नगरपालिकालाई पर्यटकीय नगरपालिकाको रुपमा घोषणा गर्नुपर्ने माग राख्दै बार्षिक ९ लाख पर्यटक आउने गरेकोमा ६ लाख सूर्योदय नगरपालिकाले धानेको बताए । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको जन्मस्थान इलामकै मांसेबुङ गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्ने उनको माग थियो । उनले चिया विकास बोर्ड प्रदेश माताहतमा ल्याउनु पर्ने माग राखे । 

संसदमा सरकारको जवाफ

संसदमा उठेका सवालको बारेमा जवाफ दिने अभ्यास पनि प्रदेश संसदले शुरु गरेको छ । जनताको सवालमा उठेका जिज्ञासालाई सम्बोधन गर्न सहजताको लागि सरकारलाई दवाद सिर्जना गर्नको लागि सरकारको जवाफ खोज्न थालिएको हो । यसअघि बसेको संसद बैठकको शुन्य समयमा प्रदेश सांसदहरुले उठाएका विभिन्न सवालमा सरकारको तर्फबाट बुधबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जवाफ दिएका थिए । 

मन्त्री कार्कीले सांसदहरुले उठाएका समस्या समाधानको लागि प्रदेश सरकारले आफ्नो भूमिका खेल्ने र संघीय सरकारको मातहतका काम सम्पन्न गर्न पहल गर्नेमा जोड दिनु भएको थियो । 

हुलाकी राजमार्गको काम छिटो अगाडि बढाउन संघीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले कामको अनुगमन गर्ने जानकारी दिँदै मन्त्री कार्कीले अबैध सुरपारीको कारोबार नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा परेको बताए । बाढी–पहिरोपीडितको राहत र पुनस्र्थापनाका लागि पनि सम्बन्धित जिल्ला र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने उनको भनाइ थियो । 

मन्त्री कार्कीले प्रत्येक सांसदले यसअघिको बैठकमा उठाएका सवालबारे सबै संसदहरुको सवालको जवाफ दिएका थिए । 

समितिले पूर्णता पायो

आजै बसेको संसद बैठकले बिभिन्न बिषयगत समितिहरुलाई पूर्णता दिएको छ । शुसासन तथा योजना समिति, अर्थ समिति, सार्बजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृति श्रोत तथा पूर्वाधार समिति लगायतमा सदस्य छनौट गर्दै समितिलाई पूर्णता दिइएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्