
काठमाडौं, २ बैशाख– ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ भन्ने नाराका साथ भोलि देशभर विभिन्न कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाइदै छ ।
दिवसको अवसरमा स्वास्थ्य महाशाखाले सोमबार त्रि.वि. शिक्षण अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्तामा विशेष समारोहको आयोजना गर्दैछ । यस्तै साँझ पाँच बजे माइतिघर मण्डलामा गर्भवती भएकै कारण ज्यान गुमाएका महिलाहरुको संझनामा दिप प्रज्वलन कार्यक्रमो आयोजना गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको छ ।
नेपालमा मातृ मृत्युदर उच्च रहेकाले मातृ मृत्युदरलाई कम गराउन सरकारले हरेक वर्ष सुरक्षित मातृत्व दिवसको रुपमा जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ ।
सरकारले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत गर्भवती महिलाले ४ पटक स्वास्थ्य परिक्षण गराउँनुपर्ने, स्वास्थ्यसंस्थामा नै सुत्केरी गराउनुपर्ने कार्यक्रम लागु गरिएको परिवार स्वास्थ्य महाशाखाकी डा.पुण्या पौडेलले जानकारी दिइन् ।
‘मातृ मृत्युदरलाई कम गर्न सरकारले कार्यक्रमहरु संचालन गरीरहेको छ । तर पनि मातृमृत्युदर हामीले सोचेअनुरुप कम हुन सकिरहेको छैन’ उनले लोकान्तरसँग भनिन्, ‘नेपालका ४१ प्रतिशत महिलाहरु अझैपनि घरमै सुत्केरी गराउँने गरेका छन् । यसले उनीहरुको स्वास्थ्य जोखिममा परेको छ ।’
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले स्वास्थ्यसंस्थामा सुत्केरी गराउँने महिलालाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्लामा एक हजार र तराइका जिल्लाहरुमा पाँच सय रुपैंया भत्ता र गर्व अवस्थामा चार पटक स्वास्थ्य जाँच गराएबापत चार सय पनि दिने गरको छ ।
नेपालको भौगोलिक विकटता,ग्रामिण क्षेत्रमा शिक्षा र जनचेतनाको कमी र आर्थिक अभावका कारण महिलाहरु अझैपनि असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेको डा. पौडेलको भनाइ छ ।