०६ साउन २०८३, बुधबार

कतारमा पाँच महिना काम गरेको तलब नपाएपछि रित्तो हात फर्किए ५ नेपाली युवा

बैशाख १३, २०७५
कतारमा पाँच महिना काम गरेको तलब नपाएपछि रित्तो हात फर्किए ५ नेपाली युवा

काठमाडौं, १३ वैशाख-गत वर्ष मंसिर ११ गते ‘सिकम इन्टरनेशनल कन्ट्र्याक्ट’ भन्ने कम्पनीमा मजदूरी गर्न पुगेका ५ नेपाली तलब नपाएपछि रित्तो हात फर्किएका छन् । सर्लाहीको वाग्मती नगरपालिकाबाट ५ महिनाअघि वैदेशिक रोजगारी लागि कतार पुगेका सूर्यबहादुर ठकुरी,  रेशमकुमार लोप्चन,  भेषबहादुर थापा मगर,  भुजेन्द्रबहादुर ठकुरी र  कृष्णबहादुर ठकुरी मंगलबार रित्तो हात नेपाल फर्केका हुन् ।

७५ हजारका दरले ‘वर्ल्ड नेट ह्युमन रिसोर्सेस’लाई पैसा बुझाएर गएका पीडितहरूले पाँच महिनासम्म काम गरेको तलब पाएका थिएनन् । ‘शुरुको २० दिनजति खान दियो, त्यसपछि अर्कै कम्पनीमा पठाइदियो । त्यहाँ हामीले सिमेन्ट मुछ्ने काम गर्यौं’, रित्तो हात नेपाल फर्केका कृष्णबहादुर ठकुरीले लोकान्तरसंग गुनासो गरे ।

उनीहरूले काम गर्ने कम्पनीको साहु भारतको केरलाको थियो, उसले पैसा दिने कुरै गर्थेन । तीन महिना पछि एक महिनाको तलब दियो । तर त्यो सम्झौता गरिएको रकम भन्दा धेरै कम थियो । ‘१००० रियल दिने भनेर काममा लगाइएको थियो, तीन महिनामा जम्मा ७०० रियल हातमा थमायो’, ठकुरीले बताए ।

पीडितहरूले जाने बेलामा म्यानपावर दलाल ‘नरेश ठकुरी’लाई एक जनाको रु ७५ हजारको दरले रकम बुझाएको, तर रसिद भने जम्मा दश हजारको लिएका थिए । उता तलब नपाएपछि यता आफन्तजनहरूले अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको सहायतामा वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

वैदेशिक रोजगार विभाग र म्यानपावरको संयुक्त प्रयासमा उनीहरूलाई वैशाख ११ गते नेपाल ल्याइएको थियो ।

नेपाल फर्किने बेलामा दुई महिनाको तलब भत्ता दिने कुरा गरिए पनि खाएको र बसेको खर्च भन्दै सबै पैसा कम्पनीले काटिदियो । एक जनाको हातमा जम्मा ३०० रियल अर्थात ८ हजार नेपाली रुपैयाँ हाल्दिएर नेपाल पठायो ।

पीडितहरूले अहिले आफू जाँदा लागेको खर्च र पाँच महिनाको तलब भत्ता सबै पाउनुपर्ने भन्दै म्यानपावरलाई बारम्बार ताकेता गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्