०२ साउन २०८३, शनिबार
विश्वकप पूर्वसमीक्षा

'स्टार' खेलाडीको जमघटले फ्रान्स पनि विश्वकपको प्रबल दाबेदार

'स्टार' खेलाडीको जमघटले फ्रान्स पनि विश्वकपको प्रबल दाबेदार

काठमाडौं, १० जेठ –रुसमा यही मसान्तमा शुरु हुन गइरहेको फूटबल विश्वकपमा फ्रान्स पनि उपाधिको बलियो दाबेदार हो । यसका खेलाडीहरू निकै प्रतिभाशाली छन् ।

सन् १९९८ मा गृहमैदानमा फ्रान्स विश्वविजेता बनेको थियो भने सन् २००६ मा ऊ इटालीसँग फाइनलमा हार्न पुग्यो ।

प्रतिभावान खेलाडीहरूको जमघट भए पनि एउटा टीमका रूपमा एकजुट भएर नखेल्नु फ्रान्सको मुख्य समस्या हो । विश्वकप छनोटमा फ्रान्स आफ्नो समूहको विजेता रह्यो तर त्यसक्रममा उसले खराब नतिजा पनि निकाल्यो । लक्जेम्बर्गविरुद्ध घरमा गोलरहित बराबरी अनि स्विडेनसँग २–१ अन्तरको हार अनपेक्षित थियो ।

त्यसैले पनि फ्रान्सबाट कस्तो प्रदर्शनको अपेक्षा गर्ने भन्ने अन्योल छ । व्यक्तिगत रूपमा खेलाडीहरूको प्रदर्शन हेर्दा त फ्रान्स बलियो दाबेदार हो, तर टोलीकै रूपमा चाहिँ उसको प्रदर्शनमा औंला उठाउने ठाउँ छन् । 
डिडिएर देस्काम्प्स सन् २०१२ देखि फ्रान्सेली टोलीको मुख्य प्रशिक्षक हुन् । उनले यसपाली नयाँ खेलाडीहरूलाई मौका दिएका छन् ।

युरोकपको फाइनलमा पोर्चुगलसित हारेको भएपनि उक्त टूर्नामेन्टमा फ्रान्सको प्रदर्शन उत्कृष्ट थियो । आफ्नो टोलीले त्यही प्रदर्शन विश्वकपमा पनि दोहोर्‍याउने अपेक्षा प्रशंसकहरूले गरेका छन् ।

फ्रान्सको प्लेइङ इलेभनमा लोरिस, सिदिबे, भराने, उम्टिटी, मेन्डी, पोग्बा, कान्ते, मातुइदी, लेमार, एमबाप्पे र ग्रिजम्यान रहने सम्भावना छ ।

ग्रिजम्यान, पोग्बा र एमबाप्पेको प्रदर्शन विश्वकपमा राम्रो रह्यो भने फ्रान्स निकै अगाडि बढ्न सक्छ । 

नबिल फेकिर प्रतिभाशाली मिडफिल्डर हुन् र उनले खेल्ने मौका पाए भने पनि फ्रान्सलाई विश्वकपमा सहज हुने देखिन्छ । 

म्यानचेस्टर युनाइटेडबाट खेल्ने मिडफिल्डर पउल पोग्बामाथि पनि धेरैको नजर छ । उनी फ्रान्सेली टोलीका सुपरस्टार हुन्, तर उनको प्रदर्शन कहिले अत्यन्तै उत्कृष्ट हुन्छ भने कहिले चाहिँ फ्रस्ट्रेट गराउने गरी झुर खेल्छन् ।

पोग्बाको नेतृत्वमा रहेको फ्रान्सको मिडफिल्ड त बलियो छँदैछ, उसको अट्याक पनि उत्तिकै घातक छ । मार्सेईलाई हराएर युरोपा लिग जितेको एट्लेटिको मड्रिडका स्टार खेलाडी ग्रिजम्यान दुवै गोडा उत्तिकै राम्रोसँग चलाउन सक्छन् र नआत्तिकन गोल गर्छन् । उनको जादू चल्यो भने फ्रान्सले विपक्षीहरूविरुद्ध गोलको वर्षा गर्न सक्छ ।

दिमित्री पाएट चोटका कारण खेल्न नसक्नुचाहिँ फ्रान्सका लागि ठूलै झड्का हो । यस्तै बार्सिलोनाका उस्मान डेम्बेले पनि पूर्णरूपमा फिट नभएको चर्चा छ ।

बेन्जामिन मेन्दी, जिब्रिल सिदिबे, रफाएल भराने र स्यामुएल उम्टिटीले फ्रान्सको डिफेन्सलाई मजबुती दिएका छन् ।

समूह सीमा फ्रान्सका प्रतिस्पर्धीहरू डेनमार्क, पेरु र अस्ट्रेलिया छन् । फ्रान्स समूहविजेता बनेर अर्को चरणमा पुग्ने सम्भावना प्रबल छ ।

फ्रान्सले कि ४–४–२ कि त ४–२–३–१ को फर्मेसनमा खेल्न सक्छ ।

यो पनि पढ्नुहोस् :

विश्वकपको घाइते बाघ ब्राजिल : गर्ला यसपाली चमत्कार ?

मेसीमा निर्भर अर्जेन्टिना, विश्वकप जित्ने सम्भावना कति ?

salt training

कमेन्ट गर्नुहोस्