
काठमाडौँ, जेठ २९ -मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएसँगै मधेसकै अर्को दल राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) पनि सरकारमा जान सक्ने चर्चा शुरु भएको छ ।
स्वयम् राजपाकै कतिपय नेताले आफूहरू सरकारमा सहभागी हुनसक्ने सम्भावना रहेको बताउने गरेका छन् । तर केही नेता भने यस्तो सम्भावनालाई सिधै नकार्छन् । त्यसमध्येका एक हुन् राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा ।
झा आफ्नो पार्टी सरकारमा जान आतुर नभएको बताउँछन् । सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नै नभएको भन्दै उनले त्यस आसयका साथ फैलिएका समाचारप्रति आपत्ति समेत जनाएका छन् ।
लोकान्तरसँगको छोटो कुराकानीमा झाले कैलालीबाट भारी मतले विजयी भएका रेशम चौधरीलाई नि:शर्त शपथ ग्रहण गराउनुपर्ने बताए ।
'आरोप प्रमाणित हुनुअघि नै अपराधीसरह व्यवहार गर्नु अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्नु हो,' झाले भने, 'रेशमसँगै थुनिएका ३० जना अन्य पार्टी सदस्यलाई पनि विना शर्त रिहा गर्नुपर्छ ।'
हतार-हतार गरेर सरकारमा गइहाल्नु आफ्नो प्राथमिकतामा नरहेको र सरकारमा गएकै कारण फोरमसँग दूरी नबढ्ने कुरमा आफू विश्वस्त रहेको झाको प्रतिक्रिया छ ।
केपी ओली नेतृत्वको सरकार दुईतिहाइ मतसहितको शक्तिशाली सरकार भएकाले राजपा सरकारमा जानु र नजानुमा कुनै अन्तर नरहेको उनले बताए ।
तर मधेस आन्दोलनका माग पूरा गराउन आफूहरू सरकारसँग निरन्तर वार्तामा भने रहेको उनको भनाइ छ ।
झाले यसो भनिरहे पनि केही अध्यक्ष मण्डलकै केही नेताहरू भने सरकारमा जानुपर्ने पक्षमा रहेको बताइन्छ । सत्ताका कारण विगतमा पटक-पटक टुटफुट झेलेका ६ दल मिलेर चुनावअघि राजपा गठन भएको थियो ।