
पाल्पा– पाल्पा सदरमुकाम तानसेनबाट ९ किलोमिटरको दूरीमा अवस्थित छ प्रसिद्ध ‘भैरवनाथ मन्दिर’ । तानसेन—तम्घास सडकखण्ड अन्तर्गत हालको रिब्दिकोट गाउँपालिका–४ भैरवस्थानमा भैरवनाथ मन्दिर छ । सवारीबाट ओर्लिएसँगै १० मिनेटको सिढी चढेपछि डाँडामा रहेको भैरवनाथ मन्दिर पुग्न सकिन्छ । निजी सवारी लिएर जानेहरु मन्दिरसम्मै पुग्न सक्छन् ।
मन्दिर दर्शनका लागि दर्शनार्थीहरुको व्यवस्थित लाइन् । जुत्ता,चप्पलका लागि राखिएको ¥याक । व्यवस्थित शौचालय, दर्शनार्थीको थकान मेटन राखिएका प्रतिक्षालय यो भैरवनाथ मन्दिरका विशेषता हुन् ।
मन्दिर नजिकै निर्माण गरिएको फूलवारी, त्यहाँ फूलेका रंगीचंगी फूल अनि शान्त वातावरण । यस्तै व्यवस्थापनले नमूना बनेको छ,— यो मन्दिर ।
एसियाकै सबैभन्दा ठूलो त्रिशुल रहेको मन्दिर भनेर पनि ‘भैरवनाथ मन्दिर’ परिचित छ । सदरमुकामबाट नजिकै रहेको, यातायातको सहज व्यवस्था भएको र व्यवस्थित बन्दै गएसंगै यहाँ पुग्ने दर्शनार्थीहरुको संख्यामा पनि उल्लेख्य बृद्धि हुँदै गएको छ । मन्दिर वरिपरीका १ सय भन्दा बढी परिवारले प्रत्येक्ष रोजगारी पाएका छन् ।
धार्मिकमात्र नभई ऐतिहासिक, तथा पर्यटकीय महत्व बोकेको यो मन्दिरमा वार्षिक १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी दर्शनार्थीहरु आउने गरेका छन् । भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी भन्छन्, ‘जति राम्रो व्यवस्थापन गर्यो पर्यटक तथा दर्शनार्थीहरु पनि त्यहीअनुसार बढने रहेछन् । त्यो हाम्रो अनुभवले पनि देखाएको छ ।’

नित्य पूजाआजा
मन्दिरमा दर्शन गरी भाकल गर्नाले मनले मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहँदै आएको छ । केही वर्ष पहिलेसम्म यहाँ दर्शन गर्न महिना, बार भन्ने चलन थियो । शनिबार, मंगलबार साथै बैशाख महिना, मंसिर महिना र दशैंको पूर्णिमामा दर्शनाथीको भीड लाग्छ । तर अहिले अन्य बार र महिना पनि दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका छन् ।
सेनकालिन यस मन्दिरमा एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट(एक प्रकारको रोटी) चढाउने गरिन्छ । साथमा कुखुरा, बोका रागोलगायतका बली चढाउँने गरिन्छ । बि.सं.१४६५ मा पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले भैरवस्थानमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ ।
सिजनमा थप्नुपर्छ कर्मचारी
मन्दिर व्यवस्थापन समितिले १३ जना कर्मचारीहरु राखेको छ । ति कर्मचारीहरुलाई समितिले मासिक तलव खुवाउँदै आएको छ । कर्मचारीहरुले मन्दिर आसपासको सरसफाई, लाइन व्यवस्थापन लगायतका कामहरु गर्दै आएका छन् ।
तर सिजनमा यी कर्मचारीले पनि नपुग्ने समितिले जनाएको छ । बैशाख, मंसिर महिना साथै दशैंको नवदुर्गाको समयमा यहाँ आउने दर्शकनार्थीहरुको संख्या धेरै हुने गरेको छ । यो समयमा ज्यालादारी कर्मचारीहरु थप गर्नुपर्ने अध्यक्ष अधिकारी बताउँछन् । कर्मचारीको तलवमा मात्रै डेढदेखि २ लाख रुपैयाँ खर्च हुँदै आएको उनले बताए ।
दशैं तिहारमा मात्रै ९ लाख भेटी संकलन
यो मन्दिरमा भेटीबाट महिनामै लाखौं रुपैयाँ आम्दानी हुँदै आएको छ । यसवर्ष दशैं तिहारको समय (कात्तिक) महिनामा ९ लाख बढी भेटी संकलन भएको छ । समितिका अध्यक्ष अधिकारीले कात्तिक महिनामा ९ लाख २८ हजार ५ सय ८० रुपैयाँ भेटी संकलन भएको बताए । मन्दिरमा पूजा गर्ने दर्शनार्थीले चढाएको भेटी र अन्यबाट उक्त रुपैयाँ संकलन भएको हो ।
किन परेन सरकारको १ सय गन्तव्यको सूचीमा
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको मन्दिर सरकारले सार्वजनिक गरेको १ सय पर्यटकीय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चार्यजनक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारी बताउँछन् । भैरवस्थान पाल्पाको मुख्य धार्मिक तथा पर्यटकीयस्थल हो । पाल्पा घुम्न आउने प्रायः मानिसहरु भैरवनाथ मन्दिर नपुगी फर्किंदैनन् ।
पर्यटकीय गन्तव्यमा सरकारले भैरवनाथ मन्दिरलाई नसमेट्दा आश्चर्यचकित र दुःखी भएको अध्यक्ष अधिकारी बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिर भन्दा कम व्यवस्थित स्थानहरु सरकारको सूचीमा पर्दा भैरवनाथ मन्दिरलाई सरकारले चिन्न सकेन, यसमा हामीहरु दुःखी छौं ।’
उनले आफूहरुले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई भेटेर सरकारको १ सय गन्तव्यको सूचिमा राख्नेगरी कुरा गरेपनि अन्तिममा नपरेको बताउँछन् । ‘हामीहरु पूर्ण आशावादी थियौं, सरकारको यो सूचीमा भैरवनाथ मन्दिर पर्छ भनेर, उनले भने ‘पछि के कारणले छुट्यो, कहाँबाट कमजोरी भयो हामीपनि अचम्ममा परेका छौं ।’ सरकारले तोकेका एक सय पर्यटकीय गन्तव्यमध्ये पाल्पाका ४ वटा स्थल परेका छन् ।