०२ साउन २०८३, शनिबार

व्यापारीको चंगुलमा खाद्य संस्थान : किसानको धान भकारीमै कुहाएर जापानी चामल किन्दै

पुस ४, २०७५
व्यापारीको चंगुलमा खाद्य संस्थान : किसानको धान भकारीमै कुहाएर जापानी चामल किन्दै

धनगढी – निकै ढिलो गरी धान खरिद गर्न थालेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले किसानबाट धान खरिद गर्न नसकेपछि व्यापारीबाट चामल किन्ने योजनामा पुगेको छ ।

अञ्चल कार्यालयले चालू वर्ष ५० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यको २० प्रतिशत पनि धान खरिद नभएपछि व्यापारीबाट चामल खरिद गरेर आपूर्ति गर्ने योजना बनाएको हो ।

मंसिर १० गतेदेखि धान गर्दै आएको संस्थान सेती अञ्चल कार्यालयले हालसम्म ९ हजार ३ सय क्वीन्टल र महाकाली अञ्चल कार्यालयले ४ सय ५६ क्वीन्टल धान मात्रै खरिद गरेको छ । जुन खरिद गरेको धान कुटानीको लागि समेत टेण्डर आह्वान गरिसकेको छ ।

तर संस्थानले सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्लामा वर्षमा चामल र गहुँ गरी ५० हजार क्वीन्टल खाद्यान्न आपूर्ति गर्दै आएको छ । सो परिमाण बमोजिमको खाद्यान्न आपूर्तिको लागि खरिद भएको धानबाट सम्भव हुने नदेखेपछि संस्थानले चामल खरिद गरेर भएपनि आपूर्ति गरिने बताएको छ ।

संस्थानका सेती अञ्चल प्रमुख प्रेम नारायण भण्डारीले भने, ‘धान खरिदको अवस्था निराशाजनक छ । तर खाद्यान्न आपूर्ति त गर्नैपर्ने हुन्छ । जसको लागि चामल खरिद गरेर भएपनि आपूर्ति हुन्छ ।’ चामल खरिदको टेण्डर केन्द्रीय कार्यालयबाट हुने बताउँदै उनले करीब ३० हजार क्वीन्टल चामल सुदूरपश्चिम प्रदेशको लागि खरिद हुने जानकारी दिए ।

उसैपनि किसानको धान खरिद गर्नमा ढिलासुस्ती तथा हेलचक्र्याइँ गर्दै आएको संस्थानले स्थानीय व्यापारीबाट मात्रै होइन, विदेशी चामल समेत आयात गरी बिक्री गर्दै आएको छ । कहिले बंगलादेशी त कहिले जापानी चामल आयात गरी बिक्री गरिरहेको हो ।

अञ्चल कार्यालयसँग मौज्दात रहेको २ हजार १ सय ४० क्वीन्टल चामलमध्ये ८ सय ४० क्वीन्टल चामल जापानी रहेको छ ।

संस्थानलाई व्यापारीले गरे काउन्टर

सरकारले गत साउन २३ गते धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ तोकेको थियो । तर अधिकांश किसानले व्यापारीलाई धान बिक्री गरिसकेपछि मात्रै धान खरिद प्रक्रिया थालेपछि धान खरिदमा संस्थान चुकेको हो ।

ढिलो गरी धान खरिद प्रक्रिया शुरू गरेको संस्थानको खरिद दररेटभन्दा व्यापारीले बढी मूल्यमा खरिद गर्न थालेपछि संस्थानले हात धुनुपरेको हो । संस्थानले धान खरिद गर्नु पूर्वव्यापारीले १ हजार ८ सयदेखि २ हजार रुपैयाँ प्रतिक्वीन्टलमा खरिद गरिरहेका थिए । जब संस्थानले प्रतिक्वीन्टल २ हजार ३ सय ३० रुपैयाँमा खरिद गर्न थाल्यो, तब व्यापारीले २ हजार ३ सय ५० रुपैया कायम गरे । किसानले व्यापारीकहाँ धान बिक्री गरे ।

खाद्यान्न राख्ने गोदाममा औषधी

पछिल्लो समय संस्थान आफ्नो उद्देश्यबाट समेत विमुख हुँदै गएको छ । व्यापारीबाटै प्रशोधित खाद्य सामग्री बेच्न थालेको संस्थानले आफ्नो स्वामित्वको भौतिक संरचनाहरू समेत व्यापारीलाई धमाधम भाडामा दिन थालेको हो ।
संस्थानको सेती अञ्चल कार्यालय धनगढीको खाद्यान्न राख्ने एउटा गोदाममा अस्पताल बन्न थालेको छ । संस्थानको गोदाम घर भाडामा लिएर एउटा कम्पनीले अस्पताल निर्माणको काम अगाडि बढाएको हो ।

संस्थानको कार्यालय रहेको भवनको पछाडि रहेको ३ वटा गोदाम भाडामा दिएको छ । जसको एउटा गोदाममा सारथी अस्पताल निर्माणको काम धमाधम भइरहेको छ ।

अञ्चल प्रमुख भण्डारीले मासिक ३१ हजार भाडामा २ वर्षको लागि अस्पताल सञ्चालनको लागि दिएको जानकारी दिए । अर्को गोदाम अमिट मेडिसिन कम्पनीले औषधी भण्डार गर्दै आएको छ भने अर्को गोदाममा कृषि सामग्री कम्पनी लिमिटेडले भाडामा लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्