
काठमाडौं –नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आगामी जेठभित्र महाधिवेशन गर्न माग गरेका छन् । पार्टी झन् कमजोर भइरहेको भन्दै सिटौलाले अबिलम्व महाधिवेशन गर्न नेतृत्वसँग माग गरेका हुन् ।
काठमाडौंमा बिहीवार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै सिटौलाले जेठभित्र महाधिवेशन गर्न सम्भव नभए चैतभित्र संक्रमणकालीन परिस्थितिमा जानुपर्ने बताए ।
संक्रमणकालीन परिस्थितिअनुसार निर्वाचन क्षेत्रहरूको समायोजन गरेर पदाधिकारीको निर्वाचन, प्रदेश विभाजनका क्रममा भूगोल नमिलेर टुक्र्याइएका जिल्लाको अधिवेशन, स्थानीय तहको अधिवेशन गर्न सकिने लगायतका प्रावधान कांग्रेस विधानमै उल्लेख छ ।
कार्यक्रममा सिटौलाले कांग्रेसलाई नयाँ ऊर्जा दिन महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुको विकल्प नरहेको बताए ।
सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलललाई नेता नमान्ने घोषणा समेत गरे । ‘देउवा र पौडेल दुवैमा नेतृत्व गर्ने क्षमता देखिएन, त्यसकारण म उहाँहरूलाई नेता मान्न सक्दिनँ,’ सिटौलाले भने, ‘उहाँहरूमा नेता बन्ने क्वालिटी नै छैन ।’
यद्यपि नेतृत्वको कुर्सीको भने सम्मान गर्ने उनको भनाइ छ ।
साथै सिटौलाले कांग्रेसमा उठेको हिन्दूराज्यको आवाज असान्दर्भिक भएको टिप्पणी गरे ।
नेता सिटौलाले प्रतिनिधिसभाको बुधवारको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको पनि आलोचना गरेका छन् ।
महासमिति बैठक सकिएको एकसाता नपुग्दै सिटौलाले नेतृत्वप्रति चरम असन्तुष्टि देखाएका हुन् । गत महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाले आगामी महाधिवेशनमा पनि नेतृत्वको दाबी गर्ने संकेत गरेका छन् ।