
काठमाडौं– राजधानीका भित्तामा फिल्मको पोस्टर टाँस्न रोक लगाइए पनि यसरी पोस्टर टाँसिने क्रम अझै रोकिएको छैन । जथाभावी टाँसिएका पोस्टरले राजधानीको सौन्दर्य नै कुरूप बनाएको र फोहोर पनि बढेको भन्दै काठमाडौं महानगरपालिकाले भित्तामा पोस्टर टाँस्न रोक लगाएको थियो ।
सर्वोच्च अदालतले आजभन्दा तीन वर्ष अघि नै विज्ञापनका नाममा काठमाडौंका सार्वजनिक स्थलमा पोस्टर र पम्पेटहरू टाँस्न रोक लगाउँदै यस्ता पोस्टर हटाउन महानगरपालिकाको नाममा आदेश नै जारी गरेको थियो ।
त्यससँगै महानगरले पोस्टर टाँसिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरेर कारवाही पनि ग¥यो । चलचित्र निर्माता संघले निर्माताहरूलाई भेला गराएर शहरका भित्तामा पोस्टर नटाँस्न आग्रह पनि गरेको थियो ।
तर आजसम्म पनि यो क्रम रोकिन सकेको छैन । हाल प्रदर्शनरत नेपाली फिल्म ‘चौकादाउ’ र ‘भिलेन’को पोस्टरले अहिले पनि राजधानीका भित्ताहरू रंगिएको देख्न सकिन्छ ।

निर्माता भन्छन्, ‘पोस्टर टाँस्न विकल्प चाहियो’
महानगरले भित्तामा पोस्टर टाँस्न रोक लगाएसँगै निर्माताहरूले विकल्पको माग गरेका छन् । अझै पनि भित्तामा टाँसिएको पोस्टर हेरेर हलसम्म पुग्ने दर्शक रहेको बताउँदै उनीहरूले महानगरले पोस्टर टाँस्नका लागि विकल्पको व्यवस्था गरिदिनुपर्ने माग गरेका हुन् ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी महानगरको कुरामा सकारात्मक देखिँदै प्रचारप्रसारका लागि पोस्टर टाँस्न केही निश्चित स्थान भने तोकिदिनुपर्ने बताउँछन् ।

‘महानगरको आग्रहमा हामीहरू एकदमै सहमत छौं, तर केही स्थान तोकिदिनुपर्छ भन्ने हाम्रो माग हो,’ लोकान्तरसँगको कुराकानीमा आकाशले भने, ‘हामीहरू यही मागका साथ केही दिनमै महानगरसँग छलफलमा बस्नेछौं । त्यसपछि एउटा निचोड निस्कनेछ ।’
‘प्रविधि कहाँ पुगिसक्यो, प्रचारका लागि भित्तामै पोस्टर टाँसिनुपर्ने !’
कुनै समय हलमा रिलिज हुन लागेका नयाँ फिल्मको प्रचारको लागि सबैभन्दा राम्रो माध्यम मानिन्थ्यो भित्तामा टाँसिने पोस्टर । तर अहिले प्रविधिले धेरै फड्को मारिसकेको छ ।
राजधानीका भित्तामा टाँसिने पोस्टरले शहर कुरूप बनाउनुका साथै दुर्घटना समेत बढाएको महानगरको दाबी छ ।
जथाभागी पोस्टर टाँस्नाले शहर फोहोर भएको भन्दै भित्ताहरूमा पोस्टर टाँस्न रोक लगाइएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य बताउँछन् ।
‘विज्ञापन गर्न पाउनुपर्छ भन्ने उहाँहरूको माग हो । शहरको सौन्दर्य र सहरी सुशासनको कुरामा ध्यान दिँदै अन्य माध्यमबाट पनि त विज्ञापन गर्न सक्नुहुन्छ,’ उनी भन्छन् ।

प्रविधिको विकासको यो चरणमा प्रचारका लागि पुरानै शैलीको भर पर्नु गलत भएको आचार्य बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेको जमानामा पोस्टर नटाँसी हुँदैन् भन्नु गलत हो । अहिले हामीहरू धेरै कुरामा अनलाइनमा गइसक्यौं, हलकै कुरामा कति विकास भइसकेको छ । मानिसहरू घरमै बसेर फिल्मको टिकट काट्न सक्छन् । तर निर्माताहरू प्रचारको नाममा अझै पनि पुरानै शैली अपनाएर भित्तामै पोस्टर टाँसिरहनुभएको छ ।’
विज्ञापन नीति २०७० अनुसार सार्वजनिक स्थानमा पोस्टर टाँस्दा महानगरको अनुमति लिनुपर्ने बताउँदै कार्यान्वयनमा कडाई गर्ने बताउँछन् । ‘हामी कार्यान्वयनतर्फ पनि कडाइका साथ लागिरहेका छौं । नगर प्रहरीहरू घुमिरहनुहुन्छ । सूचना पाए वा गस्तीका बेलामा टाँसेको देखे हामी कारवाही गर्छौं,’ उनले भने ।
वर्षौदेखि शहरको सौन्दर्य नै बिगार्नेगरी राजधानीका हरेक गल्लीका भित्ता, पर्खालहरू, बिजुलीको पोल, सार्वजनिक तथा निजी पर्खालमा फिल्मका पोस्टरले कब्जा जमाइरहेकै छन् । महानगरले यसलाई रोक्न पहल गरिरहेको बताए पनि परिणाम खासै देखिएको छैन ।