
विराटनगर- प्रदेश सरकारले ९० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई नगद ५ हजार रुपैयाँसहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ । एक वर्षभित्र प्रदेश सरकारले गरेको कार्य प्रगतिबारे जानकारी दिन आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले ९० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।
‘प्रदेश सरकारले आफनो एकवर्षे कार्यकाल पूरा गरेको यस ऐतिहासिक अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका अति जेष्ठ नागरिक ९० वर्ष भन्दा माथिका वृद्धवृद्धा आमाबुबाहरूलाई सरकारको सरकारको तर्फबाट ५ हजार रुपैयाँ नगदसहित घर–घरमा सम्मान गर्ने घोषणा सरकारको तर्फबाट गर्न चाहन्छु ।’
सुशासन, विकास र समृद्धि अर्थात् समृद्ध प्रदेश, सुखी जनताको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे । प्रदेश सरकारलाई सबै क्षेत्रको साथ, सहयोग र सद्भाव प्राप्त भएकोमा खुसी व्यक्त गरे ।
मुख्यमन्त्री राईले प्रदेश सरकार र प्रदेशसभाप्रति जनतालाई जोड्दै प्रदेशको विकास समृद्धि र सुशासनमा जनताले आशा र भरोसा गर्ने एकमात्र संस्थाको रुपमा प्रदेशलाई स्थापित गर्न आफूहरु सफल भएको उनको दाबी छ । छोटो अवधिमै प्रदेश सरकारप्रति जनताको आशा, विश्वास र भरोसा गर्ने अवस्था सिर्जना भएको छ । त्यो बढिराखेको छ र यो अत्यन्तै सकारात्मक र उपलब्धिको पक्षा हो,' उनले भने ।
प्रदेशको योजनाबद्ध आधुनिक विकासका लागि प्रदेश योजना आयोगको गठन, आवधिक योजनाको तर्जुमा, आयोजनाहरूको वर्गीकरण प्राथममिकीकरण गर्दै अगाडि बढ्नु र वित्तीय अनुशासन कायम गर्न सक्नु अर्को महत्वपूर्ण पक्षको रुपमा लिएको उनले सुनाए ।
प्रदेशको विकासमा कृषि, पर्यटन, उर्जा, वन वातावरण, उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न र सहकार्य गर्न नेपालको विकासका साझेदारहरू, नेपाल उद्योग वाणिज्य महासंघ, अन्य संघसंस्था लगायत निजी क्षेत्रका लगानीकर्ताहरूको ध्यान आर्कषित गर्न र सहकार्य गर्नका लागि महत्वपूर्ण आधारहरू तयार गर्न सफल भएको उनले बताए ।
सो अवसरमा प्रदेश स्थापना गर्दादेखि अहिलेसम्म नियमित काम गर्ने झण्डै एक दर्जन बढी कर्मचारीलाई सम्मान गरिएको छ ।