०५ साउन २०८३, मंगलबार

पहाडी र मधेसीका बीच विभेद गरेर हामी कता जाँदैछौं ?

कात्तिक २०, २०७४
पहाडी र मधेसीका बीच विभेद गरेर हामी कता जाँदैछौं ?
एकाबिहानै उठ्दा मेरो मुटु पोलेर आयो । केही दिनअघि सप्तरीमा नेपाली मारिएको खबर बासी हुन नपाउँदै भारतीय सीमा सुरक्षा बलद्वारा बुधवार एक नेपाली मारिए । समय र परिस्थिति जे जस्तो भएपनि आखिर मारिने नेपाली नै हुन् ।
सामाजिक सञ्जालमा मान्छे मारिएको खबरलाई फरक–फरक ढङ्गले विश्लेषण गरिएको पाइयो । ‘पहाडी मरेछ, म त खुशी छु,’ भन्ने मान्छे पनि भेटिए । मधेसी (धोतीहरू) मरेछन् सप्तरीमा, मन खुशी भयो,’ भन्ने मान्छे पनि देखिए । आखिर हामी यस्तो संवेदनहीन कसरी बन्न पुग्यौं ? कसैको लाशमा पनि राजनीति हुन्छ र ? कोही रोएकोमा कोही खुशी कसरी हुनसक्छ ? मधेसी होस् कि पहाडी, आखिर मर्ने त हाम्रै नेपाली दाजुभाइ हुन् ।

मेरो बाल्यकाल जनकपुरको मुरली चोक, आनन्दनगरमा बित्यो । मेरो छिमेकी शिव श्रेष्ठ दाइ अहिले नेपाल एभरेस्ट बैंकमा कार्यरत हुनुहुन्छ । उहाँको बुवा अर्थात् हाम्रो काका बित्दा हामी सबै दुःखी भएका थियौं । उहाँको घरमा समस्या आइपर्दा हामी उभिन्थ्यौं । अनि हाम्रो घरमा समस्या आउँदा उहाँ आइपुग्नुहुन्थ्यो । हामीले एक–अर्कालाई कहिले मधेसी–पहाडीको विभाजनमा राखेनौं । हामीलाई हेक्का पनि भएन, उहाँ पहाडी हो कि मधेसी ?


हामी भाडाको घर छाडेर देवीचोकमा आफ्नो घरमा स–यौं । त्यहाँ पनि हाम्रा एक छिमेकी व्रजेश माथेमा (लभ माथेमा) हुनुहुन्थ्यो । उहाँ माथेमा कटेजमा बस्नुहुन्थ्यो । उहाँ पनि साह्रै मिलनसार मान्छे हो, अनि मेरा गुरु पनि । उहाँ हाल काठमाडौंको लिटिल एन्जेल्स स्कूलमा शिक्षक हुनुहुन्छ । उहाँले पनि कहिल्यै मलाई मधेसी वा पहाडीको नजरले हेर्नुभएन ।

विद्यालयस्तरीय अध्ययन सकेपछि म काठमाडौं विश्वविद्यालयमा स्नातक अध्ययन गर्न आएँ । कुरो सन् २००९ को हो । म स्नातक पढ्दा मेरा एक गुरुले मात्र मसँग नराम्रो व्यवहार गरे, मधेसी भएकै कारण । उनलाई खासमा कालो छाला मन पर्दैनथ्यो र टुटेको नेपाली बोल्ने मान्छे त पटक्कै मन नपर्ने । उनले मेरो नम्बर पनि काटे ।

सबैभन्दा कम मार्क्स मेरै हुन्थ्यो उनको विषयमा तर अरू विषयमा भने मेरो नम्बर ७० प्रतिशतभन्दा माथि नै हुन्थ्यो । ती एक शिक्षक मात्र रंगभेदी थिए । सबै थिएनन् । मान्छे एकदुईजना खराब जहाँ पनि भेटिन्छन् । त्यो स्वाभाविक हो ।

मैले पढेको विश्वविद्यालमा पढाउने डा. निर्मलमणि अधिकारी मेरा लागि पूजनीय हुन् । म उहाँलाई एक शिक्षकको रूपमा लिन्छु, न कि एक पहाडी व्यक्तिको रूपमा । मलाई पढाउनुभएको रोशन कर्णलाई पनि म गुरुको रूपमा लिन्छु, न कि मधेसीको रूपमा । म काम गर्ने वा लेख्ने मिडियामा सम्पादक जुनसुकै थरको भए पनि उहाँ मेरा लागि सम्पादक नै हो, ठीक उस्तै जस्तो कि मेरा प्रधानमन्त्री प्रचण्ड हुन् न कि पहाडी वा मधेसी ।

व्यक्तिमाथि भेदभाव गर्नु गलत हो । अधिकार खोस्नु गलत हो । अनि समाज नै तहसनहस गर्नेगरी भेदभावको राजनीति फैलाउनु अवश्य पनि गलत हो । मधेसले अधिकार पाउनुपर्छ । मधेसको अधिकार खोस्ने शासनसत्ता हो न कि पहाडी सामान्य जनता । हाम्रो लडाईं त्यो सत्ताविरुद्धमा हो, हाम्रो लडार्इं त्यो राजनीतिविरुद्ध हो जसले हामीलाई पछि धकेल्यो, हाम्रो दुश्मन ती राजनेता हुन् जसले हाम्रा अधिकार कुण्ठित गर्छन् र आफ्नो सत्ताको रोटी पकाउँछन् ।

हामी गलतको साथ दिएर कसरी सही ? हामीलाई विकास चाहिएको छ, हाम्रा युवा विदेशिएका छन्, उनलाई रोजगार दिनुस् स्वदेशमै, हाम्रा प्रहरीले सम्माननीय सर्वोच्च अदालतको आदेशविपरीत गएर घुँडाभन्दा माथि गोली चलाएको छ, कारवाही उसलाई गर्ने हो न कि तमाम पहाडी समुदायलाई ।

कानूनमा बडो प्रसिद्ध सिद्धान्त हो फ्याक्टम भ्याले । अर्थात्, कुनै पनि कुरालाई हामीले बारम्बार दोहो–यायौं भने त्यो गलतै भएपनि सहीको रूप धारण गर्छ आउने दिनमा । आज हामी मधेसीविरुद्ध खनिए वा पहाडीविरुद्ध खनिए भोलि हाम्रा सन्ततिले त्यो काम जायज भएको ठान्नेछन् । अब एक क्षण रोकिएर सोचौं, हामी कता जाँदैछौं ? के हामीले अंगालेको पथ सही हो ?

आज म जिवेश झा मर्दा के मेरो सम्पादकको मन दुख्दैन होला ? के उहाँ खुशी हुनुहुनेछ मर्सिया म–यो भन्दै ? पटक्कै पनि उहाँ यस्तो सोच्नुहुने छैन । उहाँ दुःखी हुनेछन् । 
लेखक  झा 
म पढ्ने देहरादुनको ल कलेजमा मुसलमान प्रधानाध्यापक हुन् । हामी हिन्दूहरूको बाहुल्य छ कलेजमा । उहाँको खुशीमा हामी खुशी हुन्छौं, उनको दुःखमा हामी दुःखी हुन्छौं । भारतमा हिन्दू मुस्लिम संघर्ष छ भने हामीकहाँ मधेसी–पहाडी । भारतमा त धार्मिक संघर्ष कम हुँदैछ भने हाम्रोमा दिनप्रतिदिन बढ्दैछ । के हामी अझै भन्न सक्छौं कि हामीहरू सभ्य देशका सभ्य नागरिक हौं भनेर ? पटक्कै होइन ।

अझै बुद्ध र सीता माता जन्मेको देशको वासी हामी त । कुन मुखले दाबी गर्ने कि हामी देवभूमिको मान्छे भनेर ? हाम्रो देश कुनै कालखण्डमा यति ऊर्वर थियो कि सीता जन्मिन्, महात्मा बुद्ध जन्मिए, संस्कृतका ६ दर्शनमध्ये पाँच त हाम्रै भूमिबाट उत्पन्न भए ।

म बिरामी परेको जानकारी दिन फेसबूकमा स्टाटस लेखेको एक घन्टा नबित्दै मेरा साथी तथा गुरुहरू चाँडै निको हुनुहोला भन्दै शुभकामना दिन थाल्नुहुन्छ । उहाँहरू न पहाडी न मधेसीको रूपमा प्रस्तुत हुनुहुन्छ । बरू मेरा शुभचिन्तकको रूपमा पो देखिनुहुन्छ । अब कसरी भन्ने, को मधेसी हो, को पहाडी ? यो त राजनीतिले समाजमा ध्रुवीकरण ल्याएको मात्र हो । नेता गलत हुन्, उनीविरुद्ध हामी खनिँदा जायज देखिएला, तर सामान्य नागरिकविरुद्ध खनिनु कुनै पनि हालतमा जायज मानिन्न ।

तसर्थ भारतीय सीमा बलको गोलीखाने पहाडी समुदायका मान्छे हुन् कि नेपाल प्रहरीको बुलेट खाने मधेसी हुन्, मर्ने त नेपाली नै हुन् ।

एकचोटी फेरि भन्छु मेरा प्राध्यापक डा. हेमराज काफ्ले पनि हुन्, डा. निर्मलमणि अधिकारी पनि हुन् र जनकपुरमा मलाई पढाएका मेरा झा, यादव थर भएका गुरुहरू पनि हुन् । उहाँहरू सबै मेरा गुरु हुनुहुन्छ । उहाँहरूको जात मलाई थाहा भएपनि मलाई उहाँहरूको जातपातसँग मतलब छैन ।

समाज नेताले बिगारेको हो, जनताले होइन । म सामान्य मध्यमवर्गीय परिवारको मान्छे हुँ । देहरादुनमा कहिले खीर पनि खान्छु त कहिले नूनभात पनि खान्छु । मजस्तो आर्थिक विपन्नता झेल्ने पहाडी साथीहरू पनि छन् यहाँ । उनीहरूले भोग्ने पीडा म पनि भोग्छु ।उनीहरू बिरामी हुँदा साथ दिन म कहिल्यै पछि हटेको छैन ।

एकचोटि सोच्नुस् त तपार्इं कसैसँग मित्रता गाँस्दा थर हेरेर गाँस्नुहुन्छ कि मान्छेको व्यवहार हेरेर ? सम्बन्ध गाँसिएपश्चात् तपाईंको दुःखमा तपार्इंको साथी खुशी हुने कुरा हुन्छ र ?पटक्कै हुन्न । अनि आज नेपाली मारिँदा किन खुसी भएको ? कस्तो ढुङ्गे मुटु होला तपार्इंको ?
हामीलाई संविधानमा संशोधन भन्दा पनि मानसिक संशोधन चाहिएको छ । त्यो कागज (संविधान) त फगत अधिकार ग्यारेन्टी गर्ने किताब न हो, समाज त मान्छेको विवेक, सोचले चल्ने हो, मान्छेको दिनचर्या, मान्छेको बोली–व्यवहारले हाम्रो समाजको रथ चल्ने हो । सोचौं त, साइकलको पांग्रा पन्चर भए त्यो साइकल चल्ला र ? त्यस्तै, हाम्रो समाजको आधार नै कमजोर भए हामीकहाँ जाने ?

मेरो आफ्नो घरको अर्काे उदाहरण दिन मन लाग्यो । मेरो आफ्नै काकाको छोरो अर्थात् मेरो कान्छो भाइ कतारमा काम गर्दै छ । गरीबीको कारणले ऊ पढ्न सकेन । दाइजो व्यापक छ, बहिनीहरूको बिहे धनी केटासँग हुन पाएन । यसमा को दोषी ? मेरो परिवार कि त्यो समाज जसमा दाइजो व्याप्त छ ? मेरो भाइ पढ्न सकेन, विदेश गयो, यसमा को दोषी ? ऊ कि मेरो देश जसले जागिर उपलब्ध गराउन सकेन ? ऊ काम गर्ने कम्पनीमा पहाडी मूलका मान्छे पनि छन् । सँगै खाना खान्छन् उनीहरू ।

आज मधेसी वा पहाडीको कुरा नगरौं साथी हो ! देशलाई विकास चाहिएको छ । सही कुराले समाजमा मजबुती पाओस् ।

तपाईको दुश्मन मधेशी वा पहाडी होइन, ती नेता हुन् जसले आफ्नो राजनीति चम्काउनका लागि, भ्रष्टाचार गर्नका लागि, आफ्ना छोराछोरी विदेशमा पढाउनका लागि, आफ्नी श्रीमतीलाई सभासद बनाउनका लागि अनि अकुत सम्पति आर्जन गर्नका लागि तिखा शब्द प्रयोग गर्लान्, हामीलाई भड्काउलान् तर हामीहरू उनीहरूको प्रभावमा पर्नुहुन्न । यो देश तपार्इं हामीको साझा भूमि हो । मिलेर विकास गरौं । मानसिक दरिद्र नबनौं ।

salt training

कमेन्ट गर्नुहोस्