
पोखरा - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको विकास र समृद्धिसँगै भूमिसँग सम्बन्धि समस्या समाधान गरेर उत्पादन वृद्धितर्फ लाग्ने बताएका छन् ।
सोमवारबाट पोखरामा शुरू भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भूमिहीनहरुको समस्या समाधान गर्न नसके दुईतिहाइको कम्युनिष्ट सरकारको औचित्य समाप्त हुने बताएका हुन् । ‘हामीले भूमिहीनहरुलाई मध्यनजर गर्दै कानून निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘त्यही नीति तथा कानूनलाई कार्यान्वयन गर्दै भू–उपयोग नीति अगाडि बढ्ने छ । भूमिहीन नागरिकले लालपुर्जा पाउने छन् ।’
नेकपा सरकारमा रहँदा भूमिसँग सम्बन्धित समस्या समाधान गर्न नसक्ने हो भने जनताले कम्युनिष्ट पार्टी भनेर बाँकी नराख्ने प्रचण्डको भनाई थियो ।
निर्वाचन घोषणापत्रमा उल्लेख गरिएको प्रतिबद्धता अनुसार नै ४ वर्षभित्र भूमिको समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । ‘एक वर्ष बितिसकेको छ,' प्रचण्डले भने, 'अबको ४ वर्षमा पनि भूमिहीन नागरिकहरुको समस्या समाधान गर्न सकेनौँ भने हाम्रो पार्टीको समेत औचित्य छैन, त्यसैले समस्याको समाधानका लागि हामीले पहल गरिरहेका छौँ ।'
सुकुम्बासी तथा भूमिहीनलाई अबको केही समयमा नै लालपुर्जा वितरण गरिने अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरे । लालपुर्जा वितरण गर्न नसकेपनि केही समयका लागि नागरिकको पहिचान खुल्ने गरेर परिचयपत्रको व्यवस्था गर्न लागिएको समेत उनले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भू-उपयोग सम्बन्धि नीति बनिसकेकाले अब छिट्टै जमिनको वर्गीकरण गर्ने बताइन् । उनले भूमि बैंक मार्फत् कृषि तथा पशुपालन गर्न चाहने कृषकहरुलाई जमिन उपलब्ध गराइने बताइन् ।