
पोखरा- पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाएको छ । विश्वविद्यालयले १ सय ५० शैयाको अस्पताल निर्माण गरी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नै अस्पतालमा प्रयोगात्मक अभ्याससँगै उपचारात्मक सेवा प्रवाह गर्ने उद्देश्यले विहीवार शिलान्यास गरिएको छ । विश्वविद्यालयको हाताभित्र रहेको जग्गामा अस्पताल निर्माण हुनेछ ।
अस्पतालको शिलान्यास विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले गरेका छन् ।
शिलान्यास समारोहमा बोल्दै प्राध्यापक शर्माले विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा यस विश्वविद्यालयमा अध्यायनतर विद्यार्थीले प्रयोगात्मक कक्षा लिन कठिनाइ भएको बताए । ‘विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा पारामेडिकल कोर्समा अध्ययनतर विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पताल धाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब विश्वविद्यालयको आफ्नै अस्पताल बनेपछि सबैलाई सहज हुनेछ ।’
विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टर्नसिप गराउनका लागि अस्पताल बनाउन थालिएको जानकारी दिए । ‘विश्वविद्यालयले आफ्नै मेडिकल बनाउने पहिलेदेखिको योजना हो, अनुमति पनि पाइसकेका छौं,’ उनले भने, ‘तर त्यसका लागि उपयुक्त जग्गाको अभाव खड्किएको छ ।’
स्वतन्त्र विद्यार्थी युनियन पोखरा विश्वविद्यालयले अस्पताल शिलान्यासको स्वागत गरेको छ । सभापति सुनिल तिमिल्सिनाले स्ववियुको चर्को दवाब र अनसन सफल भएको दावी गरे । ‘अस्पताल बनेपछि पारामेडिकलका विद्यार्थीहरुले प्रयोगात्मक कक्षाका लागि पस्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालयन आँखा अस्पताल लगायतका अस्पतालमा धाउनु पर्दैन,’ उनले भने ।