
काठमाडौं – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार सहारनपुरस्थित शाकम्बरी धामबाट चुनावी अभियानको शुरूआत गरेका छन् । विपक्षी नेताहरू मायावती, अखिलेश यादव र अजित सिंहले दुई हप्तापछि देवबन्दबाट अभियान शुरू गर्ने भएका छन् ।
निर्वाचन अभियान प्रारम्भ गर्ने स्थानले यस राज्यमा सात चरणमा हुने निर्वाचनको दिशा तय गर्नेछ ।
विश्लेषकहरूले यसलाई मण्डल विरुद्ध कमण्डलको भाग दुई भनिरहेका छन् । तीन दशकअघि यो संघर्षले उत्तर प्रदेशको राजनीति परिवर्तन गरेको थियो । त्यतिखेर पछिडिएका वर्गको आन्दोलन र राम मन्दिर आन्दोलन निकै चर्केका थिए ।
यस परिवेशमा कांग्रेसले आफ्नै स्थान खोजिरहेको छ र ऊ प्रियंका गान्धीको आकर्षणमा निकै भर परेको छ । अत्यन्तै कठिन जिम्मेवारी पाएकी प्रियंकाले सहारनपुर, कानपुर, उन्नाव, बाराबंकी, पदरौना, प्रतापगढ, अल्लाहबाद, राय बरेली र अमेठीमा ध्यान केन्द्रित गरेकी छन् । भाजपाविरुद्धको मतविभाजन नहोस् भनी कांग्रेसले समाजवादी पार्टी, बहुजन समाज पार्टी र आरएलडीबीचको गठबन्धनमा अस्थिरता नआओस् भन्ने मनसाय राखेको छ । त्यसैले कांग्रेसले शिवपाल सिंहको दलसँग गठबन्धन गरेको छैन ।
भाजपाले जातीय समीकरणलाई कठोर हिन्दूत्वसँग मिसाएर आफ्नो भाग्य चम्काएको छ । आफ्नो निर्वाचन अभियानको शुरूआतमा योगीले कैरानाबाट हिन्दूहरू भाग्नुपरेको भन्ने विषय उठाएर विवाद जन्माए । भाजपाले यसलाई निर्वाचनको विषय बनाएको थियो । समाजवादी पार्टीको सरकारले दुःख दिएकाले ठूलो संख्यामा हिन्दू परिवारहरू कैरानाबाट बास सरेको भनी उनले आरोप लगाएका थिए । तर केन्द्रको गृह मन्त्रालयको प्रतिवेदनले यसलाई नकारेको छ ।
केही समयअघि मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भएका विधानसभा निर्वाचनमा योगीले घोषणा गरे : ‘तिमीहरू अली आफूसँग राख, हामीसँग बजरंगबली हुनुहुन्छ ।’
सपा, बसपा र आरएलडीको गठबन्धनले दलित, पिछडिएको जात (ओबीसी) र मुसलमानको भोट ल्याउने लक्ष्यसहित अप्रिल ७ मा मुसलमानहरूको सबभन्दा ठूलो पाठशाला दारुल उलूम रहेको देवबन्दबाट निर्वाचन अभियान शुरू गरेको छ ।
योगीले चाहिँ सोचविचार गरेरै प्रसिद्ध हिन्दू मन्दिर रहेको शाकम्बरीबाट निर्वाचन अभियान शुरू गरे । ‘यस मन्दिरका भक्तहरू ठूलो संख्यामा पाँच राज्यमा छन् : उत्तराखण्ड, हरियाणा, पञ्जाब, उत्तर प्रदेश र हिमाचल । मुख्यमन्त्रीको भ्रमणले भाजपाको कोर भोटबैंकलाई सन्देश दिनेछ,’ पार्टी प्रवक्ता चन्द्र मोहनले बताए ।
प्रधानमन्त्री मोदीलाई उत्तर प्रदेशको ८० मध्ये ७४ सीट दिने घोषणा गरेका योगीले विपक्षीहरूको तिकडीको सामना गर्नुपर्ने हुन्छ । उनीहरू सामाजिक न्यायको कार्ड खेलिरहेका छन् । सन् २०१४ र २०१७ मा झैं जातीय समीकरणलाई उनले हिन्दूत्वमार्फत काउन्टर दिने तयारी गर्दैछन् ।
सन् २०१७ मा विकासको नारा दिएर भोट जित्न नसकेका अखिलेश यादव चिरप्रतिस्पर्धी बसपा र जाटहरूको दल आरएलडीलाई अँगाल्न पुगे । हिन्दू ध्रुवीकरण गर्ने भाजपाको प्रयासलाई काउन्टर दिन उनले दलित, ओबीसी र मुसलमान गठबन्धन गरेका हुन् ।
‘भाजपाले मलाई मेरो ओबीसी पहिचान उजागर गर्न बाध्य पारेको छ,’ उनले भने, ‘मोदी चायवाला हुन् भने म दूधवाला हुँ ।’
द टाइम्स अफ इन्डियाबाट