
काठमाडौं – ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजका अध्यक्ष नरेश गोयलले पदत्याग गरेका छन् । अनि नरेशकी पत्नी अनिता गोयल कम्पनीको बोर्डबाट बाहिरिएकी छन् ।
गरीब परिवारमा हुर्किएर भारतलाई विश्वस्तरीय एयरलाइन्स दिएका नरेश गोयलको कथा प्रेरणादायी छ । तर उनको एक निर्णयले पतनको बाटो खन्यो र जेट एयरवेज ऋणमा डुब्यो ।
ऋणमा डुब्नुअघिको नरेश गोयलको जीवनकथा यस्तो थियो । बीकम गरेपछि गोयलले सन् १९६७ देखि करीयरका लागि संघर्ष गर्न थाले । पञ्जाबको पटियालाबाट उनी दिल्ली गए र आफ्नो एक नातेदारको ट्राभल एजेन्सीमा काम गर्न थाले । उनले मासिक ३०० भारुको जागिर पाए ।
त्यसपछि उनले पर्यटन उद्योगमा अवसर खोज्न थाले र आएका सबै मौकाको सदुपयोग गरे । यसबीचमा उनले विदेशी एयरलाइन्स कम्पनीमा काम गर्ने मानिसहरूसँग मित्रता गाँसे । उनले उड्डयन क्षेत्रको व्यापार बुझ्ने मौका पाए । सन् १९७३ मा उनले आफ्नै ट्राभल एजेन्सी खोले र त्यसलाई जेट एयर नाम दिए ।
लामो समयसम्म ट्राभल एजेन्सी चलाएपछि उनले सन् १९९१ मा आफ्नै एयरलाइन्स कम्पनी खोल्न निवेदन दिए । तत्कालीन अर्थमन्त्री मनमोहन सिंहले विदेशी कम्पनीका लागि ढोका खोलिदिएपछि गोयल पनि प्रतिस्पर्धामा उत्रेका थिए ।
सन् १९९३ देखि जेट एयरवेजको उडान शुरू भयो । त्यतिखेर निजी कम्पनीहरू टाट पल्टेर धराशायी भइरहेको बेलामा जेट एयरवेजले भने एकपछि अर्को सफलता हासिल गरिरहेको थियो ।
यसैबीच जेटलाई विदेशी मुलुकमा उडान गराउने एक मात्र निजी कम्पनी बनाउनका लागि गोयलले सन् २००७ मा एयर सहारा किने । उनले त्यसका लागि २४ सय करोड भारु खर्च गरेका थिए । उता सस्तो दरमा विमानसेवा दिने गोएयर, स्पाइसजेट र इन्डिगोले ग्राहकलाई लोभ्याइरहेका थिए ।
त्यसक्रममा जेट एयरवेजले आफू पछि परेको अनुभव गर्न थाल्यो । अनि इन्धन महंगो भए पनि जेट एयरलाइन्स प्रतिस्पर्धी कम्पनीहरूलाई टक्कर दिनका लागि मैदानमा आयो । त्यसका लागि कम्पनीले बैंकहरूसँग ऋण लिन थाल्यो र ऋण बढ्दै गयो । गोयलले सस्तो टिकट दिने निर्णय गरेर निकै ठूलो भूल गरे ।
सन् २०१३ मा खाडी देशको एयरलाइन्स कम्पनी एतिहादले जेट एयरवेजमा २४ प्रतिशत शेयर किन्यो । अहिले जेट एयरवेजमाथि ८ हजार करोड भारु ऋण छ र कम्पनीका १६ हजार कर्मचारीको जागिर संकटमा परेको छ ।
तर जेट एयरवेजले बैंकहरूबाट तत्कालै १५ सय करोड भारुको आर्थिक सहायता पाउनेछ । यसबाहेक जेट एयरवेजको निर्देशक मण्डलमा बैंकका दुई सदस्यलाई पनि मनोनित गरिने र एयरलाइन्सको दैनिक सञ्चालनका लागि अन्तरिम व्यवस्थापन समिति बनाइने भएको छ ।
एजेन्सी