१९ असार २०८३, शुक्रबार

आन्तरिक विवादले कांग्रेस थिलथिलो : सहमतिउन्मुख होइन, झन् बल्झिँदै विवाद !

पुस २, २०७६
आन्तरिक विवादले कांग्रेस थिलथिलो : सहमतिउन्मुख होइन, झन् बल्झिँदै विवाद !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको भातृ संगठनहरूको नेतृत्वको विवाद झन् बढी उत्कर्षमा पुगेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय समूहले नेविसंघको सभापति आफूले नपाए समानान्तर समिति गठन गर्ने आफ्नो तयारी रहेको बताएको छ ।

पौडेल पक्षबाट सभापतिका प्रत्यासी दिपक भट्टराईले अझै बुधवार बिहानसम्म कुनै सहमति जुट्न नसकेको बताए । ‘अहिलेसम्म सहमति जुट्न सकेको छैन,’ भट्टराईले लोकान्तरसँग भने, ‘यदि नेतृत्व हामीलाई नदिने हो भने हामी हरेक हिसाबले समानान्तर समिति गठन गर्न तयार भएर बसेका छौं ।’

भट्टराईले आफ्नो समूहलाई बेवास्ता गरे नेतृत्वले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

पौडेल पक्षबाट नेविसंघको सभापतिमा भट्टराई र मनोजमणि आचार्यले दाबेदारी पेश गरेका छन् भने सभापति देउवा पक्षबाट राजीव ढुंगानाले आफ्नो दाबी पेश गर्दै आइरहेका छन् ।

गत मंसिर २६ गते शुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकलाई महाधिवेशन र विभाग गठनका विषयमा विवाद भएपछि पौडेलपक्षले निरन्तर बहिष्कार गर्दै आइरहेको छ । महाधिवेशन कार्यतालिकाका बारेमा सभापति देउवाले केन्द्रीय समितिमा छलफल गर्न तयार रहेको बताए पनि अन्य विषयमा सहमति जुट्न नसकेको हो । 

सहमति जुटाउनकै लागि गत शनिवार नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, दिलेन्द्र बडू र हृदयराम थानी सम्मिलित ४ सदस्यीय वार्ता समिति पनि गठन गरिएको थियो । 

वार्ता समितिले २ पक्षबीच सहमति जुटाउनका लागि दौडधूप गरिरहेपनि बुधवार बिहानसम्म कुनै सहमति जुट्न सकेको छैन । 

‘उहाँहरूले नेविसंघ वा तरुण दलमा एउटा सभापति माग गरिरहनुभएको छ,’ देउवापक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘उहाँले मागेको दिए विधिसम्मत हुने र नदिए विधिसम्मत नहुने भन्ने तर्क ठीक छैन । हामीले बसौं, छलफल गरौं र उपयुक्त व्यक्तिलाई दुवै भातृसंगठनको जिम्मेवारी दिउँ भनेका छौं । यसमा गल्ती के भयो ?’

सहमति नजुट्दा बुधवार दिउँसो बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्योलमा परेको छ । 

सहमतिको अन्तिम प्रयास

गत मंसिर २६ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा महाधिवेशन कार्यतालिकामा छलफल गर्ने कुनै कार्यसूची नराखिएपछि पौडेल पक्ष ‘फायर’ भएको थियो । पौडेल पक्षले गरेको बहिष्कारका बाबजुद सभापति केन्द्रीय समितिको बैठक बसेको थियो ।

बैठकमा प्रस्तुत विभिन्न एजेण्डाहरूमध्ये २८ वटा विभागलाई बढाएर ४१ वटा बनाउने एजेण्डामा पौडेल पक्ष सहमत हुन सकेन । त्यसको भोलिपल्ट शुक्रवार बसेको बैठकमा पौडेल पक्ष उपस्थित भएन । 

‘हामीले प्याकेजमै सहमति गरौं भनिरहेका छौं तर सभापति मान्नुभएको छैन,’ पौडेल पक्षीय एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, ‘बरू हामीलाई पार्टी फोरेर जाउ भन्ने सम्मको धम्की आएको छ । महाधिवेशन कार्यतालिका, विभागको संख्या र नेतृत्व, तरुण दल र नेविसंघका बारेमा प्याकेजमा सहमति गरेर निष्कर्ष निकाल्ने हाम्रो प्रस्तावलाई नमानेर पार्टी एकलौटी ढंगले चलाउन खोज्नु दुर्भाग्य हो ।’

उनले सभापतिले नेविसंघ या तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, ४० प्रतिशत विभागको नेतृत्व दिनुपर्ने र तत्काल महाधिवेशन कार्यतालिका ल्याएर छलफल गर्ने भए सहमति हुन सक्ने बताए । 

सहमतिका लागि बुधवार अपराह्न पौडेल निवास बोहोराटारमा पौडेलपक्षीय नेताहरू छलफलमा जुट्ने भएका छन् । नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकासमान सिंह, शशांक कोइराला लगायतबीच आगामी महाधिवेशन, विभिन्न विभाग गठन र भातृ संगठनका बिषयमा एकमत बनाउने बारे छलफल गर्ने तयारी स्रोतले जानकारी दिएको छ । 

‘छलफलमा हामीले हाम्रो समान धारणा विकसित गर्नेछौं र तत्काल सभापतिलाई जानकारी गराउने छौं,’ बैठकमा सहभागी हुन बोहोराटार जान लागेका एक नेताले भने, ‘यदि हाम्रो कुरामा सभापति सहमत हुनुभएन भने नयाँ ढंगले अघि बढ्नेछौं ।’

सिटौला समूह निर्णायक !

भातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्वमा नेता कृष्णप्रसाद सिटौला समूहको पनि दाबी रहेको छ । नेविसंघको सभापतिमा सिटौला समूहले कुन्दन काफ्ले र युवराज पाण्डेलाई लैजानुपर्ने अडान राखेको छ भने तरुण दलमा नारायण भट्टराईको नाम अघि सारेको छ । 

तर नेविसंघ र तरुण दल दुवैमा यसअघि कै अनुपातमा आफ्ना प्रतिनिधिहरू राखिए सिटौला समूह सहमतिमा आउन सक्ने स्रोतको दाबी छ । ‘उहाँहरूले सभापति दाबी गर्नु स्वाभाविक हो, तर सहमतिको प्रक्रियामा उहाँहरू बाधक बन्नुभएको छैन । दुवै संगठनमा यसअघिकै अनुपातमा आफ्ना प्रतिनिधिहरू चयन भए उहाँ खुसी हुनुहुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो । 

यस विषयमा सिटौलाले अहिल्यै केही नबोल्ने बताए । ‘मेरो कुरा सहमतिमै अघि जानुपर्छ भन्ने हो, साथीहरू जुट्नुभएको छ । सहमति हुने आशा गरौं,’ सिटौलाले लोकान्तरसँग भने । 

१३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन सिटौलाकै निर्णायक मत थियो । अहिले पनि सभापति देउवा समूहले सिटौलासमूहलाई फकाउने रणनीति अख्तियार गरेको छ । यद्यपि पौडेल पक्षसँग साझा धारणा बनाउन उनी आज छलफलमा सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्