
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधान नभएपछि शुक्रवार बस्ने भनिएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताले बहिष्कार गर्ने भएका छन् ।
१४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ र तरुण दलको नेतृत्वबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद चर्किएपछि २ सातादेखि केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन ।
मंसिर २६ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता पौडेल पक्षीय नेताहरूले निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।
‘आज (शुक्रवार) पनि हामी बैठकमा जाँदैनौं,’ वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य हृदयराम थानीले लोकान्तरसँग भने, ‘अहिलेसम्म गरिएका वार्ता र सहमतिका प्रयास फेल हुँदै आइरहेका छन् । यस्तो अवस्थामा हामी केन्द्रीय समिति बैठकमा बस्ने कुरा हुँदैन ।’
पौडेल पक्षको बहिष्कारका बाबजुद मंसिर २६ र २७ गते २ पटक केन्द्रीय समिति बैठक बसेको थियो । त्यसपछि मंसिर ३० र पुस २ गते बोलाइएका बैठक स्थगित भएका थिए । पुस २ गते १० गते बैठक बस्ने तय गरिएको थियो । पुस १० गते बस्ने भनिएको बैठकलाई पुनः ११ गते आज अर्थात् शुक्रवारका लागि सारिएको थियो ।
पौडेल पक्षले मंसिर २६ र २७ गतेको केन्द्रीय समिति निरन्तर बहिष्कार गरेपछि २८ गते शनिवार सभापति शेरबहादुर देउवा आफैं वरिष्ठ नेता पौडेल निवास बोहोराटार पुगेका थिए ।
‘सहमति कसरी हुन्छ त ? खोज्नु परेन ? बैठक बहिष्कार गरेर मात्र सहमति हुन्छ ?’ निधिलगायत केही नेतासहित बोहोराटार पुगेका देउवाले भेट्नेबित्तिकै पौडेललाई प्रश्न गरे ।
दुई नेताबीच वार्ता समिति बनाउने सहमति भयो । वार्ता समितिमार्फत समस्या समाधान गर्ने भन्दै देउवाले निधिलाई अघि सारे भने पौडेलले प्रकाशमान सिंहलाई अघि सारे । वार्ता समितिमा निधि, सिंह र २ केन्द्रीय सदस्य दिलेन्द्र बडू र हृदयराम थानी रहेका छन् ।
त्यसयता पौडेल र देउवाबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा कुनै संवाद भएको छैन ।
लोकान्तरसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्रको विवादका विषयमा आफ्नो सभापतिसँग केही कुरा नभएको बताए । ‘वार्ता समिति छँदैछ नि !’ लोकान्तरलाई पौडेलले दिएको जवाफ थियो तर वार्ता समितिले २ सातासम्म सहमति जुटाउन सकेको छैन ।
यी हुन् पौडेलका माग
वरिष्ठ नेता पौडेलले तरुण दल वा नेविसंघमध्ये कुनै १ भातृ संगठनको सभापति माग गरेका छन् । नेविसंघको तदर्थ समितिमा ७ जना महामन्त्री राख्नुपर्ने र ३ आफूलाई चाहिने पौडेल पक्षले माग राखेको छ भने ४० प्रतिशत विभागको नेतृत्वको दाबी पनि पौडेल पक्षले गर्दै आइरहेको छ ।
देउवापक्ष भने महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने समय नभएको भन्दै पन्छिइरहेको छ ।
‘उहाँहरूले महाधिवेशन कार्यतालिका फागुनको अन्तिममा ल्याउने भन्दै हुनुहुन्छ, किन फागुनमा भन्ने प्रश्नको जवाफ छैन,’ थानीले लोकान्तरसँग प्रतिप्रश्न गरे, ‘नेविसंघको पनि कुन मोडेलमा टुंग्याउने भन्ने कुरा स्पष्ट भएको छैन । तरुण दल पनि भुपेन्द्रजंग शाहीको केसमा अल्झिरहेको छ । विभाग गठनको विवाद जस्ताको त्यस्तै छ । के मिलेको छ भन्ने अब ?’
पौडेल पक्षले केन्द्रीय समितिलाई बन्धक बनाए – गोपालमान श्रेष्ठ
देउवा पक्षीय केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले पौडेल पक्षलाई केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् । ‘यसरी लामो समयसम्म बैठकलाई बन्धक बनाउनु हुँदैन,’ लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘सहमतिका प्रयासहरू भएका छन् । उहाँहरू नयाँ–नयाँ माग लिएर आउनुहुन्छ । आजको केन्द्रीय समिति बैठक बस्छ र बस्नुपर्छ ।’
नयाँ रणनीति तय गर्न चाक्सीबारीमा पौडेल पक्षको भेला
संस्थापन पक्षसँग कुनै सहमति हुन नसकेपछि पौडेलपक्षीय नेताहरू प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भेला भएका छन् । शुक्रवार अपराह्न उनीहरू नयाँ रणनीति तय गर्न भेला भएका हुन् ।
‘अहिलेसम्मका सहमतिका प्रयासहरू असफल भइसकेपछि नयाँ आधारमा नयाँ अडान निर्माण गर्न हामी भेला हुँदैछौं,’ पौडेल पक्षीय एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, ‘हाम्रो बैठकले जे तय गर्छ, त्यही आधारमा हामी पुनः उहाँहरूसँग कुरा गर्छौं ।’