मोटरसाइकलमा दुई हेल्मेट : सुरक्षामा ध्यान दिने कि कमिसनको पाटोमा रुमल्लिने ?

जेठ १४, २०७६

- सन्तोष सापकोटा

हेल्मेटले सवारी दुर्घटना रोक्ने होईन दुर्घटना पश्चात हुने मृत्युलाई भने रोक्न सक्छ, यदि यस्को सहि प्रयोग गर्न सक्यौं भने  । पछिल्लो समय दुई पांग्रे सवारी साधन प्रयोग गर्नेले अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । धेरै जसो संचार माध्यमले उक्त विषयमा प्राथमिकता दिएर समचार प्रकाशन र प्रसारण समेत गरे । त्यसपछि सामाजिक संजालमा बहस शुरु भयो यहि विषयमा ।  अचम्मको कुरा त के भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम  “मोटरसाईकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारी साधनमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ”भन्ने व्यवस्था उल्लेख छ ।


ADVERTISEMENT

कानुन कार्यान्वयन गराउने निकायको रुपमा नेपाल प्रहरीलाई नेपाल सरकारले जिम्मेवारी दिएको छ । ट्राफिक व्यवस्थापन , दुर्घटना न्युनिकरण र अनुसन्धानको क्षेत्रमा काम गर्ने गरी नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरी अन्तर्गत नै रहने गरी ट्राफिक प्रहरीको व्यवस्था गरेको छ । ट्राफिक प्रहरीले कानुन अनुसार कार्यान्वयन गर्न पनि पाउँछ यद्धपि पत्रकार सम्मेलन मार्फत सचेत गराएर कार्यान्वयन गराउन खोज्दा हेलमेट व्यवसायीसँग कमिसनको लागि ल्याएको योजना भन्ने आरोप पनि सुनिएको छ । कमिसनको पाटोलाई चटक्कै छोडौं र सुरक्षाको पाटोलाई सोचौ अनि बहस गरौं ।

गएको बैशाख महिनालाई मात्रै हेर्ने हो भने देशै भर ४८९ वटा दुई पाग्रें (स्कुटर,मोटरसाईकल) दुर्घटना भएका छन । काठ्माडौं उपत्यकामा मात्रै दुई पांग्रे सवारी  दुर्घटनामा परेर आर्थिक वर्ष २०७४/७५ मा १ सय ११ जनाको मृत्यु भएको छ ।आर्थिक वर्ष २०७५/७६को वैशाख मसान्त सम्म मात्रै दुई पांग्रे सवारी साधन प्रयोग गर्ने९५ जनाले ज्यान गुमाएका छन । २०७६ साल वैशाख महिनामा मात्रै काठ्माडौ उपत्यकामा ५ जना  मानिसको मृत्यु  भएको छ ।  वैशाख महिनामा मात्रै  ४ सय ४० वटा दुई पाग्रे सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले उपलव्ध गराएको तथ्याङ्कमा देखिन्छ । सडक दुर्घटनामा गत वर्ष दैनिक औसत ७ जनाको मृत्यु भएको छ । बाग्मति अंचलमा मात्रै आर्थिक वर्ष २०७४/७५ मा  ९ लाख २१हजार ९ सय १७ वटा मोटरसाईकल दर्ता भएको पाईन्छ । यो संख्या जम्मा सडकमा गुड्ने सवारी साधनको ७८.६३ प्रतिशत हो । तथ्याङ्कलाई केलायर हेर्दा यो संख्यालाई कम गराउनको लागि अन्य क्षेत्रमा पनि सुधार गर्न त अवस्यनै बाँकि छ , तर पहिलो सुधारको लागि सवारी तथा यातायात व्यवस्था ऐनमै उल्लेख भएको दई पांग्रे सवारी साधनमा दुई जनालेनै हेलमेट लगाउनु पर्ने व्यवस्थालाई नै कार्यान्वयन गर्नु पर्ने देखिन्छ । यसर्थ दुईवटा हेलमेट झन्झटिलो होला तर सुरक्षित अवस्य पनि छ ।

सामाजिक संजालमा भै रहेको वहसलाई हेर्दा यँहा मानिस सुरक्षालाई खासै प्राथमिकता नदिएको पाईयो । बरु सुरक्षाकै बारेमा बिभिन्न मिडियामा बहस गर्दै हिँड्ने मानिसलेनै जन्झटिलो हुने भनि अपव्याख्या गरेको समेत पाईयो । कतिपय संचार माध्यमले समेत यो कुरालाई अपव्याख्या हुने गरी सम्पादकिय छाप्ने , कार्टुन लेख्ने गरेको समेत पाईयो । के सवारी दुर्घटनाबाट हुने क्षति न्युनिकरण गर्नको लागि सचांर माध्यमको भुमिका हुदैन ? कम्तिमा झन्झटलाई रोकेर सुरक्षालाई पहिलो प्राथमिकता दिन सकेमा सवारी दुर्घटना पश्चात हुने मृत्युदरलाई ४० प्रतिशतले निश्चित रुपमा कम गर्न सकिन्छ ।

सुरक्षाको हिसावले हेर्ने हो भने दुईपांग्रे सवारी साधनको चालकले अगाडिको हेण्डिलमा हातले समातेको हुन्छ । अकस्मात दुर्घटना भै हालेमा ह्याण्डल समातेकै कारण चालक सवारी साधनबाट उछिट्टिने सम्भावना कम हुन्छ । तर पछाडी बस्ने मानिस उछिट्टिएर टाउकोमा चोट लाग्ने र टाउकोको चोटकै कारण मृत्यु हुने संभावना धेरै हुन्छ । दैनिक औसत ७ जना मानिसको मृत्यु भै रहँदा ४ जना मानिस दुईपांग्रे सवारी साधनबाट नै मृत्युको सिकार भै रहेको पाईन्छ । स्पोर्टसमा प्रयोग गरिने दुई पांग्रे सवारी साधन दुर्घटना भै हालेमा पनि सवारी चालकलाई कुनै पनि चोट लाग्दैन । घुँडा कुहिना जोगाउने तथा टाउको जोगाउनको लागि सुरक्षा बिधि अपनाय जोखिम पुर्ण मानिने दुईपांग्रे सवारी साधनमा पनि शुरक्षित रहने गतिला उदाहरण यसैसँग सम्बन्धित खेल क्षेत्रमा छन् ।

आवाज या शोखकै लागि ५ औं लाखसम्म तिरेर मोटरसाईकल किन्न सक्ने अहिलेको युवा पुस्ता सुरक्षाका लागि २५ सयको हेलमेट किन्न भने कन्जुस्याइँ गरेको पाईन्छ । ट्राफिक प्रहरीले गर्ने जरीवाना छल्नकै लागि गुणस्तर हिन हेलमेट प्रयोग गर्नेको संख्यापनि प्रसस्तै देख्न सकिन्छ । यो कुरालाई हेर्ने हो भने त हेलमेट प्रयोगको लागि पनि जनचेतना फैलाउनु पर्ने आवस्यकता देखिन्छ । गुणस्तर हिन हेलमेट हामि सबैका टाउकामा छन किनकी हामिले अहिले सम्म नेपाल गुणस्तर चिन्ह प्राप्त हेलमेट लगाउन त के देख्न समेत पाएका छैनौं । हामि हेलमेट लगाँउछौ हेलमेटको फित्ता बाध्न ध्यान दिदैनौं किनकी हामिलाई आफ्नो चिन्ता छैन हेलमेट नलगाएको भन्दै ट्राफिक प्रहरीले गर्ने जरीवानाबाट बच्नु छ । यदि हामि आफ्नो सुरक्षाका लागि हेलमेट लगाँउछौं भने हेलमेटको फित्ता बाध्नु पनि त्यतिकै जरूरी छ । हेलमेटको फित्ता बाधेनौं भने दुर्घटना हुदाँ हेलमेट फुस्किएर टाउकोमा चोट अवस्यपनि लाग्छ । फित्ता बाध्यौं भने बरु हेलमेट फुट्ला तर टाउकोमा भने चोट भने लाग्दैन , यदि हेलमेट गुणस्तरीय छ भने ।

 नितिगत कुरा गर्ने हो भने कानुनमा प्रश्ट व्यवस्था भएको कुरा कार्यान्वयन गराउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था बिभागले ढिलाई गर्न नहुने देखिन्छ । त्यस्तै हेलमेटको क्वालिटी निर्धारण गर्ने गरी उधोग मन्त्रालय अन्तर्गत रहने गरी नाप तौल तथा गुणस्तर बिभाग रहेको छ । बिभागले पनि क्वालिटी नियन्त्रण गर्न सक्ने अवस्था छ । चोटपटक नियन्त्रण गर्ने र दुर्घटना पश्चात हुने हेड ईन्ज्युरी रोक्ने गरी स्वास्थ्य मन्त्रालयले पनि यो क्षेत्रमा काम गरेर जस लिन सक्ने अवस्था देखिन्छ । गृह मन्त्रालय अन्तर्गतको  नेपाल प्रहरीले पनि कानुन कार्यान्वयन गराउन सक्ने अधिकार पाएको हुदा ट्राफिक प्रहरीलाई लगाएर भोलिबाटै कार्यान्वयन गराउन सक्ने अवस्था देखिन्छ । यद्धपि  मानविय क्षतिको यो तथ्याङ्क हेर्दा किन हिचकिचाहट भइरहेको छ त्यो धेरैलाई थाहा छैन ।

  दुईवटा हेलमेट लगाउने नियम कार्यान्वयन गर्न सुरक्षा थ्रेटको कारण कठिनाई छ भन्ने खालका कुरा पनि आएका छन । के दैनिक सडकमा ४ जना मानिस गुण स्तरीय हेलमेट नलगाएको कारण या हेलमेटनै नलगाएका कारण मारिँदा त्यो सुरक्षा थ्रेट होईन ? अनि त्यस्को विकल्प चाहिँ के त ? दैनिक रुपमा   सिक्री लुटिनु या गोली लागिनु मात्रै सुरक्षा थ्रेट हो ? यदि हो भने चोक चोकमा सिसी क्यामेरा जडान गरेर यस्को समाधान गर्नुपर्छ । यि प्रश्न सरोकारवाला निकायका लागि निकै सोचनिय हुन सक्छन र हुनु पनि पर्छ । नियम कार्यान्वयन नभएकै या नगराएकै कारण दैनिक दुईपांग्रे सवारी साधनको दुर्घटनामा मारिएका मनिसको विषयले न संसदमा स्थान पाएको छ, न कार्यान्वय गराउने निकायमा नै । अब त हुदाँ हुदै यो विषयले संचार माध्यममा समेत स्थान नपाउने चिन्ता बढ्न थालेको छ ।

नो हर्न अभियानको शुरुवात काठ्माडौं उपत्यकामा २०७४ साल बैशाख १ गते देखि शुरू हुँदा यस्तै नकारात्मक टिका टिप्पणी प्रसस्तै सुनिन्थे। कार्यान्वयन गराउन कठिनाई थियो । कार्यान्वयनमा आयो तत्पश्चात जस लिने सरोकार वाल निकाय धेरै बने । दुई पाग्रे सवारी साधनमा पनि अनिवार्य हेलमेट लगाउने व्यवस्थाको कुरा ट्रफिक प्रहरीले सुरूवात गरेको छ यस्कालागी सरोकारवाला निकायको भुमिका खोई ? सरकारी सरोकारवाला निकायले जस लिन यो अभियानमा किमार्थ ढिलो गर्नु  हुँदैन । 

(लेखक सापकोटा विगत ६ वर्षदेखि मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जमा सडक सुरक्षाको क्षेत्रमा कार्यक्रम चलाउँदै आएका छन् ।)

जेठ १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार