बाथरोग चिकित्सक सम्मेलन असोज १० र ११ गते, विभिन्न देशका १२५ चिकित्सक सहभागी हुने

असोज ६, २०७६

काठमाडौं–दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा  रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ । 

नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११  गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करीव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ ।


ADVERTISEMENT

नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले  बाथरोगसम्बन्धी काठमाडाैं घोषणापत्रसमेत जारी गर्ने छ । 

सङ्घका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालमा कूल जनसङ्ख्याको दश प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथरोगको समस्या भएको तीमध्ये करीब १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ ।

करीब ७० प्रतिशत बाथरोगीले औषधि खाँदाखाँदै बीचमै छाड्ने र नेपालमा बाथरोग विशेषज्ञ चिकित्सक करीब ३० जना मात्र छन् । विशेषज्ञ चिकित्सक नकर्मी भन्छन्, “बाथरोग एक सयभन्दा बढी प्रकारका छन्, रगत परीक्षण गराएपछि मात्र बाथरोगका पहिलो जानकारी प्राप्त हुन्छ ।” 

नेपालमा बढी मात्रामा युरिक एसिड, हाडजोर्नी सुन्निने, हाड खिइने र मेरुदण्डको हाड दुख्ने बढी देखिने चिकित्सकले जनाएका छन् । साथै बालबालिकामा बढी मात्रमा जोर्नी दुख्ने बाथरोगबाट ग्रसित भएको पाइन्छ ।

हाडजोर्नी दुख्ने, सुन्निने कक्रक्क हुने, घुँडा, कुहिनो दुख्ने, सामान्य ज्वरो आउने लगायतका लक्षण बाथरोग हुन् । समयमा उपचार नभएमा आँखा, मिर्गाैला र मुटुलाई समेत असर पुर्‍याउने चिकित्सकले जनाएका छन् ।  
 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस